कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा: गृहमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय गृहमन्त्री श्रेष्ठले बताएका छन्।

म्याग्दी– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणलाई सरकारले प्राथमिकता दिने बताएका छन्। 

संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण गरिने उनको भनाइ छ। 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्ती साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको थियो। “ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्वका साथ अघि बढाउँछ,” मंगलबार कागबेनी पुगेका गृहमन्त्री श्रेष्ठले भने, “कालीगण्डकीको बगरमा थुप्रिएको नदीजन्य वस्तुका कारण उत्पन्न जोखिम तथा क्षति न्यूनीकरण गर्दै बस्तीलाई सुरक्षित बनाउने विषयमा गम्भीर भएर छलफल गर्छौं।” 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने उनको भनाइ छ। 

“कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीरताका साथ पहल गर्नेछ,” उनले भने, “बेनी–जोमसोम–कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौँ।” क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् र सिँचाइ आयोजना पुनर्निर्माणको काम तत्काल अघि बढाइने उनले बताए। 

कागखोलाको बाढीबाट एक अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ।