राजमार्गमा आवतजावत बाक्लिएपछि बरमझियाको पेडाको महिमा पूर्व–पश्चिम यात्रा गर्नेहरूसँगै देशभर पुग्यो। पसल थपिए, बजार बढ्दै गयो। बैजनाथ बाजे र बरमझियाको पेडा एक चर्चित ‘ब्रान्ड’ बन्यो।
जनकपुरधाम– ‘आमै! एउटै व्यक्तिका यति धेरै पसल’ जो कोही एक छिन् त अलमलिन्छन् नै। जसरी पहिलो पटक बरमझिया पुग्दा हामी पनि अलमलियौँ। लहरै रहेका १०० भन्दा बढी पसल तर, नाम उस्तैउस्तै । ‘बुढो बाजेको पेडा पसल’, ‘असली बुढो बाजेको पेडा भण्डार’, ‘असली बुढो बैजनाथ बाजेको पेडा पसल’, ‘उही पुरानो बैजनाथ बाजेको पेडा पसल’, ‘बैजनाथ बाजेको पेडा भण्डार’, ‘बैजनाथ बाबाको पेडा पसल’, ‘श्री बैजनाथ साहको पेडा भण्डार’ यस्तैयस्तै पसल अनेक तर नाम एक।
अगाडि होस् या पछाडि ‘बैजनाथ बाजे’ हरेक पसलको साझा पहिचान हो। त्यो देखेर एकछिन त जो कोही अलमलमा पर्छन्। त्यस्तै अलमलमा थिइन्, काठमाडौँबाट इलाम जाँदै गरेकी रोशनी राई। “बैजनाथ बाजे को हुन्? सबै पसल उहाँकै हुन्”, स्थानीय एक व्यापारीलाई उनी सोध्दै थिइन्।
जवाफ आयो– “हैन।”
“अनि बैजनाथ बाजे को त?”
जवाफमा पसले भन्दै थिए– “यस ठाउँमा पेडा व्यापार शुरू गर्ने मान्छे!”
रोशनीले मात्रै होइन, पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया पुगेका वा सो सडक भएर यात्रा गर्नेहरूको मनमा यस्तै जिज्ञासा जाग्दो रहेछ। लहरै रहेका यी पसलले मन लोभ्याउँछन्। गाडी नरोकेर धरै पाइन्न। अनि कुराउनी र पेडा किन्यो। पसल अगाडि टक्क रोकियो र तस्वीर लियो। यस्तै दृश्य देखिन्छन् यहाँ।
स्थानीय अभिषेक साह भन्दै थिए, “सबैले सोध्छन् पसल अनेक तर नाम एउटै कसरी? जवाफ त पाउँछन् तर असली बैजनाथ बाजेको पेडा पसल पहिचान गर्नै हम्मेहम्मे हुन्छ।” ‘बरमझियाको पेडा’ धेरै नेपालीले सुनेकै नाम हो। मधेश प्रदेशको पूर्वी सिमाना पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–२ मा अवस्थित बरमझिया यही ‘पेडा’ का कारण चर्चामा छ। तर यहाँ पहिलो पटक आउनेहरू भने राजमार्गको दुवै किनारमा खुलेका पसलको मिल्दोजुल्दो नामले बैजनाथ बाजेको असली पेडा पसल खोज्न अलमलिन्छन्।
“धेरै जना बैजनाथ बाजेको पेडा पसल चाहर्दै आउँछन्, कतिपय बैजनाथ बाजेलाई नै खोज्न आइपुग्छन्”, विगत २० वर्षदेखि तीनै बैजनाथ साहको पसलमा काम गरेका कालिगड गोविन्द साहले भने, “बाजे नदेखेपछि खिन्न मान्नुहुन्छ। देख्न पाएको भए कति राम्रो हुन्थ्यो भनेर पछुताउनुहुन्छ। के गर्नु? दैवले खोसेर लगिसक्यो।”
‘पेडा भनेकै बैजनाथको’
बैजनाथ साह बरमझियामा पेडाको ‘ब्रान्ड’ स्थापित गर्ने व्यक्ति हुन्। शुरूमा उनका बुबा अक्कल साहले गाउँमै चिया पसल गरेका थिए। त्यही पसलमा छोरा बैजनाथले पनि सघाउँथे। एकपटक उनी कामको सिलसिलामा भारततिर गए। त्यही बेला दूधबाट चियाबाहेक कुराउनी र पेडा बनाउन सकिन्छ भनेर थाहा पाए। “हामीलाई सुनाए अनुसार भारत भ्रमणमा जाँदा पेडाबारे थाहा पाएर फर्केपछि चिया पसलमा आउने दूधबाट कुराउनी र पेडा बनाउन थाल्नुभएको थियो। २०१५/१६ सालतिर त्यसलाई व्यावसायिक रूप दिनुभएको हो,” हाल बाजेको बिडो थामिरहेका नाति विवेक साहले भने, “अहिलेको स्थानमा त पूर्व–पश्चिम राजमार्ग खुलेपछि मात्रै व्यापार शुरू गरिएको हो।”
समय क्रममा स्थानीयमा पेडाप्रतिको रुचि बढ्दै गयो। राजमार्गमा आवतजावत बाक्लिएपछि बरमझियाको पेडाको महिमा पूर्व–पश्चिम यात्रा गर्नेहरूसँगै देशभर पुग्यो। पसल थपिए, बजार बढ्दै गयो। बैजनाथ बाजे र बरमझियाको पेडा एक चर्चित ‘ब्रान्ड’ बन्यो। “पसल खोलेर बसेका अधिकांशले बाजेबाटै काम सिकेका हुन् तर नाम फरक राखे पनि त हुन्थ्यो। अहिले त हाम्रो पसल नै ओझेलमा पर्ने गरी ठूलाठूला अक्षरमा नाम लेखेका छन्। यसले ग्राहकलाई अलमल्याउने काम भएको छ,” विवेकको गुनासो छ, “नामले मात्रै त व्यापार चल्ने होइन नि, अस्वस्थ प्रतिस्पर्धा बढ्छ।”
‘पेडा भनेकै बैजनाथ बाजेको’ भन्ने भाष्य स्थापित गरेका साहको २०६९ साउन १८ गते निधन भयो। त्यसपछि पसलको नाममा बैजनाथ झुन्ड्याउने चलन झनै बढेको छ।
बाजेको देहावसानपछि दुई छोरामध्ये कान्छोतर्फका जेठो नाति विवेकले व्यापार सम्हालिरहेका छन्। विवेकको हार्डवेयर पसल पनि छ तर पेडा पसलमा बस्नुको आनन्द नै छुट्टै हुने उनको अनुभव छ। भन्छन्, “पूर्व मेचीदेखि पश्चिम महाकालीका मान्छे आउँछन्। बाजे, पेडा, आम्दानी, छ्यापछ्याप्ती खुलेका पसलबारे बुझ्न खोज्छन्। त्यसैले व्यापार र चिनजान दुवै हुन्छ, यसैमा आनन्द लाग्छ।”
साहलाई आफ्नो बाजेको नाममा ठूलाठूला होडिङबोर्डसहित खुलेका पसल देख्दा आनन्द लाग्छ तर जब ग्राहकले तपाईँको पसल खोज्नै मुस्किल भयो भनेर सुनाउँछन् तब नरमाइलो लाग्छ। “कहिलेकाही आफैँ पनि बाहिर निस्केर हेर्छु मेरै पसल बिर्साउने गरी बाजेको नाममा पसल खुलेका छन्। बाजेको निधनपछि त नाम मात्रै होइन ‘असली पेडा पसल’ आफ्नै हो भने जसरी बोर्डमा बाजेको तस्वीर पनि राख्न थालियो,” उनले सुनाए, “अहिले भने हामीले पसल अगाडि बाजेको शालिक निर्माण गरेका छौ। त्यसले पसल पहिचानमा केही सहज त भएको छ तर फेरि त्यही पनि नक्कल गर्लान् कि भन्ने पीर छ।”
एक व्यक्तिले एउटा पसलबाट थालेको पेडा व्यापार अहिले १०० भन्दा बढीले छुट्टाछुट्टै गरिरहेका छन्। ती पसलमा सयौँले रोजगारी र स्थानीय दूध उत्पादक किसानले बजार पाएका छन्। संस्थापक बैजनाथ बाजेको पसलमा मात्रै दैनिक ५०० लिटरसम्म दूधको खपत हुने गरेको छ। यहाँ सप्तरी, सिरहा, सुनसरीलगायत जिल्लाबाट दूध संकलन हुने गरेको स्थानीय व्यापारीको भनाइ छ।
बाजेको चिन्ता
बरमझियामा बैजनाथ बाजेको नामबिनाका पसल सायदै छन्। तिनै पसलको नाममा भइरहेको व्यापारले १०० भन्दा बढी परिवारको रोजीरोटी चलिरहेको छ। उनी जीवितै हुँदा चलेको यो चलन अहिले झनै बढेको छ। पाँच वर्षअघि व्यापार शरू गरेका जन्नत मन्सुरीले पनि पसलको नाम ‘बैजनाथ बाजे’ नै राखेका छन्। “सबैले पसलको बोर्डमा बैजनाथ बाजेको नाम ठूल्ठूला अक्षरमा लेखेका छन्। मैले मात्रै उहाँको नाम छुटाएमा अपमान गरेको जस्तो होला भनेर राखेको हो,” मन्सुरीले भने, “अरु स्वार्थ त के हुन्थ्यो र? नामले मात्रै व्यापार चल्ने होइन।”
बैजनाथ बाजेले देखाएको बाटो पछ्याउँदा अहिले आफ्नै देशमा केही गरेर खान सकिएको मनसुरीको कथन छ। आफू मात्रै होइन अरु तीन जनालाई काम दिएर उनीहरूका घरमा पनि चुल्हो बाल्ने काम यही पसलबाट भएको मन्सुरीले बताए। “अहिले बेमौसममा पनि १२० लिटर दूध किन्छौँ तर सिजनमा त ३०० लिटरसम्म किन्नुपर्छ। सोच्नुस् त त्यसमा कतिको परिश्रम र रोजिरोटी जोडिएको छ,” मन्सुरीले भने, “स्थानीयस्तरमा रोजगारी सिर्जना गरिरहेका हामीलाई प्रोत्साहन गर्नुको सट्टा हतोत्साहित गरिन्छ। मिसावट हुन्छ भनेर हल्ला फैलाइन्छ, सबैको जिम्मा लिनसकिदैँन तर हामीले इमान्दारितापूर्वक आफ्नो कर्म गरिरहेका छौँ। नभए गुणस्तर नाप्ने निकायहरू पनि छन्, परीक्षण गरे पनि भयो। किन बदनाम गराउनु?”
विवेक साहका अनुसार बैजनाथ बाजे जीवित हुँदा पनि यस्तै हल्ला चल्थ्यो। त्यसैकारण एकपटक आफ्नो नामको दुरुपयोग हुने चिन्ताले बाजेले स्थानीय प्रशासनमा लिखित निवेदनसहित आफ्नो नाम हटाउन र नयाँ खोल्नेलाई नाम राख्न नदिन आग्रह गरे। प्रशासनबाट हुबहु नाम नभएकाले केही गर्न नसकिने जवाफ पाएपछि त्यो प्रचलन रोकिएन, बरु निरन्तर बढिरहेको छ। “हरेक पसलमा बाजेको नाम हुनु हाम्रो लागि पनि गौरव र उहाँको योगदानको सम्मान पनि हो तर बाजेलाई एउटै चिन्ता थियो कि कतै आफ्नो नाम बदनाम हुने त होइन? अहिले हामीलाई पनि त्यही चिन्ता छ,” विवेकले भने।
बेलाबखत पेडामा पीठो तथा बिस्कुट मिसाइएको, धेरै दिनको बासी पेडा बेचेको जस्ता हल्ला नसुनिएका होइनन्। यस्तो सुन्दा कालिगढ डोमी साहको मन कटक्क खान्छ। “यही व्यवसायबाट हामी सबैको चुल्हो बलेको छ। बरमझियाको पेडा भनेर नेपाल र भारतमा समेत इज्जत छ। २०औँ वर्ष यसैमा बिताएका छौँ। नराम्रो सुनेपछि त मन खिन्न भइहाल्छ नि,” डोमीले मनको बह पोखे, “बाजेसँगै हामीले वर्षौं लगाएर कमाएको नाम बदनाम हुन एक दिन पनि लाग्दैन। त्यसैले सबै जनाले राम्रोसँग व्यापार गरे त हुन्थ्यो। तर खै! कसको नियत कस्तो हुन्छ? सबै इमानदार कहाँ हुन्छन् र?”
नाति विवेक भने पेडामा अन्य चिज मिसाउँदा लागत बढ्ने र त्यस्तो पेडा चाँडै खपत नभएमा गुणस्तर ह्रास भई लगानी खेर जाने हुँदा कसैले गलत काम गर्न नसक्ने विश्वास गर्छन्। यदि कसैले गलत काम गरेको शंका लागेमा सरोकारवाला निकायले अनुगमन र प्रयोगशालामा परीक्षण गरी समस्या समाधान गर्नुपर्ने तर एकाध व्यक्ति र घटना देखाएर बरमझियाको बेइज्जत नगर्न उनले आग्रह गरे।
पेडाको ब्रान्ड स्थापना गरेका बैजनाथका दुई छोरा छन्। त्यसमध्ये कान्छोतर्फका एक नातिले बाजे बैजनाथको व्यापार सम्हालिरहेका छन्। रगतको सम्बन्धका हिसाबले नाति विवेक परिवार बाजेको उत्तराधिकारी भए पनि त्यो क्षेत्रका १०० भन्दा बढी पसलेले ‘पेडा बाजे’ बैजनाथको व्यापारिक उत्तराधिकारीका रूपमा हेर्ने गरेका छन्। त्यसैकारण ‘आफ्नो नाम, काम र ठाउँको बदनाम पो हुने हो कि!’ भन्ने संशयसहित स्वर्गवास भएका बाजे बैजनाथको त्यो संशय मेटाउने दायित्व पनि यी सबै पेडा व्यवसायीको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
