सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसँग सोधपुछ

सुन तस्करी प्रकरण अनुसन्धान गरिरहेको सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनसँग सोधपुछ गरेको छ।

तस्वीर : दिपेश पुनको फेसबुक

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भएको करिब ६० किलो सुन तस्करी प्रकरण अनुसन्धान गरिरहेको प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनसँग सोधपुछ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुनलाई सोमबार ब्युरोमा झिकाएर सोधपुछ गरेको हो।

उनलाई सोधपुछ गरेर छाडिएको ब्युरोस्रोतले जनाएको छ। यो प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि पुनसँग सोधपुछ गरिरहेको एक प्रहरी अधिकृतले बताए।

यही प्रकरणमा जोडिएका र प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि फरार रहेका सुमन खरेललाई पनि प्रहरीले पक्राउ गरेको छ। सोमबार कपिलवस्तुमा पक्राउ परेका उनलाई काठमाडौँ ल्याउन लागिएको प्रहरी प्रवक्ता, डीआईजी कुबेर कडायतले बताए।