प्रधानमन्त्री र काठमाडौँका मेयरप्रति शेखरको टिप्पणी : अराजक अभिव्यक्तिले देश चल्दैन

जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजकता निम्तिने किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाइ छ।

काठमाडौँ– सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोशी प्रदेशलक्षित पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाइ थियो। 

पार्टीनिकट कर्मचारीको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको अराजकता निम्त्याउने खालका पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए।

“देश अराजकतातिर बढ्न गएको भन्ने खबर २/३ दिन पहिले कहिले हो? काठमाडौँका मेयरले जुन बोल्नुभयो। एउटा देशको सबैभन्दा ठूलो महानगरको मेयरले, त्यो अराजक किसिमले बोल्नु हुँदैन। देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौँ भनेर भन्न मिल्दैन। यसरी देश चल्दैन,” उनले भने। प्रधानमन्त्री दाहालका भनाइलाई पार्टी र कर्मचारीले पनि गम्भीर रूपले लिनुपर्ने उनको भनाइ थियो।

नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई बोलाएर पार्टीनिकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए। उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गरे।