पीडितका आफन्तले परिवारले न्याय पाउनुपर्ने माग गरेका छन्। उनीहरूले न्याय नपाए अदालत जाने चेतावनीसमेत दिएका छन्।
काठमाडौँ– आकस्मिक उपचारका निम्ति काठमाडौँको महाराजगन्जस्थित कान्ति बाल अस्पताल ल्याइएकी ५ वर्षीया बालिकाको ‘व्यवस्थापकीय कमजोरी’का कारण मृत्यु भएको अस्पताल प्रशासनले स्वीकार गरेको छ।
बालिकालाई आमा र हजुरबुबा कृष्णबहादुर गोपालीले सोमबार साँझ ज्वरो र बान्ता भएको भन्दै कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थिए। त्यहाँ पुर्याएलगत्तै पहिला टिकट काट्न आग्रह गरिएको पीडित परिवारले बताएका छन्। सोमबार बेलुका ५:४२ देखि ७ बजेसम्म प्रतीक्षा गर्दा पनि चिकित्सकले बालिकालाई एकपटक पनि निगरानी नगरेको हजुरबुबा गोपालीको गुनासो छ। उनीहरू काठमाडौँको बाफलबाट बालिकाको उपचारका लागि कान्ति पुगेका थिए।
मंगलबार अस्पतालका प्रतिनिधिसँग छलफलपछि गोपालीले भने, “हिजो ५:४२ मा मेरो नानीलाई ज्वरो र बान्ता भएर अस्पताल ल्याएका थियौँ। बारम्बार नानीलाई गाह्रो भइसक्यो भनेर अनुरोध गर्दा छिटो सेवा चाहिएको खण्डमा प्राइभेट अस्पताल जानुपर्थ्यो भनेर मलाई इमरजेन्सीको एक नर्सले भनिन्।”
समयमै उपचार नपाएका कारण आफ्नो नानीको अकालमै ज्यान गएको भन्दै लापरबाही गर्ने अस्पतालका कर्मचारीले सजाय पाउनुपर्ने गोपालीले माग गरे।

मृतक बालिकाका काका मनोज गोपालीले उपचारका लागि एक घण्टाभन्दा बढी समय प्रतीक्षा गरेको बताउँदै त्यो अवधिमा पटक–पटक आग्रह गर्दा पनि कोही चिकित्सकले नहेरेको बताए। “अस्पतालको इमर्जेन्सीमा ल्याएपछि टिकट काटेर लाइनमा बस्न भनियो। ६२/६३ नम्बरमा नानीको पालो थियो,” उनी भन्छन्, “एक घण्टा कुरेर नानीलाई झन् चाप्योभन्दा पनि न डाक्टर आए न पालो। थप १० मिनेटपछि नानी नै रहिनन्।”
स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको ज्यान गएको भन्दै आफन्तले मंगलबार विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनपछि अस्पतालका प्रतिनिधि र पीडित परिवारबीच समझदारी भएको थियो। यद्यपि, पीडितका आफन्तले पीडित परिवारले न्याय पाउनुपर्ने माग गरेका छन्। उनीहरूले न्याय नपाए अदालत जाने चेतावनीसमेत दिएका छन्।
“अस्पतालका सम्बन्धित मानिसहरूले बालिकाको परिवारलाई छलफल गर्न बोलाएका थिए। छलफल गर्दा एउटा सहमतिपत्र बनाए छन्, जहाँ उपचारको क्रममा मृत्यु भएको र कमीकमजोरी सुधारिने भनी डाक्टरहरूले हस्ताक्षरसमेत गरेका छन्। जबकि, उपचार गरिएको नि थिएन,” मृतक बालिकाकी फुपू सुशीला गोपालीले भनिन्, “पीडितले न्याय पाउन पर्यो हामी अदालतसम्म जान पनि पछि पर्दैनौँ।”
कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायले सोमबारको अवस्थालाई दुखद् भएको र स्वास्थ्य पेसेवरका लागि सचेत बनाउने बताउँदै अस्पतालमा पुरानो संरचना भएका कारण समयमा उपचार नपाउँदा बालिकाको ज्यान गएको स्वीकार गरेका छन्।
“यस अस्पताल ५२ सालको संरचनामा काम भइरहेको छ। पहिलेकै संरचनामा काम गर्न पहिलेकै जनशक्ति र संरचनाले पुग्दैन। व्यवस्थापकीय समस्या र इमरजेन्सीमा कुर्नुपर्ने विषयमा सुधार ल्याउन हामी पनि सम्बन्धित निकायमा पहल गरिरहेका छौँ,” उनले भने।
तर उपचारलाई लिएर कुनै कमीकमजोरी नरहेको उनले दाबी गरे। “इमरजेन्सीमा क्यु सिस्टमले गर्दा बिरामीले कुर्नुपरेको छ। तर यो लापरबाही, हेलचेक्र्याइँ र उपचार नभएको भन्ने कुरा सरासर गलत हो,” उनले भने, “बिरामीले इमर्जेन्सीमा छिरिसकेपछि पाउने सुविधा सबै पाएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
