भारतले नेपालका थप चार आयोजनाको १८० मेगावाट बिजुली किन्ने

नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ११० मेगावाट गरी १८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको छ।

काठमाडौँ– नेपालले १८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ।

नेपालले यसअघि ४५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप चार वटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल ६३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ। 

नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ११० मेगावाट गरी १८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले राससलाई जानकारी दिए। भारतले यो बिजुली हरियाणा राज्यका लागि लैजान लागेको हो।

माथिल्लो चमेलिया र माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट भारतमा जानेछ भने सोलुखोला (दूधकोशी) र दोर्दीखोला जलविद्युत् आयोजनाको बिजुली ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट जानेछ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार महेन्द्रनगरबाट जाने बिजुली इन्डियन इनर्जी एक्सचञ्ज (आइईएक्स) मा बिक्री हुनेछ भने ढल्केबर मुजफ्फरपुरबाट जाने बिजुली प्रतियुनिट आठ रुपैयाँ ४० पैसा अर्थात् ५.२५ भारतीय रुपैयाँमा बिक्री हुनेछ। 

आइईएक्समा बिजुली बेच्नका लागि बोलकबोल प्रक्रियाबाट हरेक दिन फरक–फरक दरमा बिजुलीको मूल्य निर्धारण हुने गरेको छ। नेपाल विद्युत् प्राधिकरण र एनटीपीसी विद्युत् व्यापार निगमबीच केही समयअघि भएको मध्यमकालीन विद्युत् व्यापार सम्झौताले प्रतियुनिट ५.२५ भारतीय रुपैयाँमा २०० मेगावाटसम्म बिजुली खरिद बिक्री गर्ने सम्झौता गरेको छ।

नेपालले सोलुखोला (दूधकोशी) आयोजनाको ८३.४२ मेगावाट, सुपर मादी हाइड्रोपावरको ४२.६८ मेगावाट, मिस्त्री खोला जलविद्युत् आयोजनाको ४०.७४ मेगावाट, दोर्दी खोला जलविद्युत् आयोजनाको २६.१९ मेगावाट र अपर चाकु ‘ए’ जलविद्युत् आयोजनाको ६.६७ मेगावाट बिजुली भारत पठाउने भने पनि सोलुखोला र सुपरमादीले मात्रै अनुमति पाएका छन्।