बुर्किना फासोमा जिहादी आक्रमण: ५३ जनाको मृत्यु, भिडन्त जारी

जिहादीले सन् २०१५ मा मालीमा आक्रमण गरेयता १६ हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको छ। 

तस्वीर: रोयटर्स

उत्तरी बुर्किना फासोमा सन्दिग्ध जिहादीको आक्रमणमा परी सुरक्षाकर्मीसहित ५३ जनाको मृत्यु भएको छ।

आक्रमणको प्रतिकार गर्ने क्रममा सोमबार र मंगलबार १७ सैनिक र ३६ स्वयंसेवक दलका लडाकुको मृत्यु भएको सेनाको जनरल स्टाफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अरू ३० जना सुरक्षाकर्मी घाइते भएका छन्। ती सैनिक र स्वयंसेवकलाई दुई वर्षअ‍घि जिहादीले लखेटेका बासिन्दाको पुनर्स्थापनाका लागि यातेंगा प्रान्तको कोम्ब्री शहरमा तैनाथ गरिएको थियो।

 “जवाफी कारबाहीमा कैयौँ आक्रमणकारीलाई ‘निष्प्रभावी’ पारिएको र उनीहरूका उपकरणहरू नष्ट गरिएको छ भने उक्त क्षेत्रमा अहिले पनि भिडन्त जारी रहेको छ,” सेनाले मंगलबार राति जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

बुर्किना फासोमा जिहादी विद्रोहलाई रोक्न असफल भएको भन्दै गत वर्ष दुई पटक सैन्य ‘कु’ भएको थियो। जिहादीले सन् २०१५ मा मालीमा गरेको आक्रमणपछि हजारौँको ज्यान लिइसकेको छ।

आक्रमणमा परी १६ हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको अलजजिराले जनाएको छ।

बुर्किना फासोमा पनि २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।