‘मानव बेचबिखनको अवस्था भयावह छ, राष्ट्रिय नीति छिटो बनाउनुपर्छ’

बुधबार विभिन्न कार्यक्रम गरि मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस मनाइँदै छ। नेपालमा २०६४ सालदेखि यो दिवस मनाउन थालिएको हो। 

काठमाडौँ– अधिकारकर्मी इन्द्रराज भट्टराईले नेपालमा मानव बेचबिखनको अवस्था भयावह रहेको बताएका छन्। 

मानव बेचबिखन तथा ओसारपसार बहुआयामिक, बहुक्षेत्रगत एवम् विश्वव्यापी समस्या बनेको समयमा नेपालमा स्वरूप फेरिँदै गएर गम्भीर समस्याको रूपमा देखा परेको उनको भनाइ छ।

“यसो हेर्दा मानव बेचबिखन न्यूनीकरण भएको हो कि जस्तो लाग्छ। हिजो रोजगारीको प्रलोभन देखाएर यौन व्यवसायमा लगाउने, बेचबिखन हुने गर्थ्यो,” लैंगिक हिंसा र मानव बेचबिखनविरुद्ध पैरवी गर्दै आएका भट्टराईले  भने, “अहिले कामदारका रूपमा लगेर श्रम शोषण गर्ने, जोखिमयुक्त काममा लगाउने, अंग बेचबिखन गर्ने भइरहेको छ। त्यसैले मानव बेचबिखनको अवस्था भयावह छ।”

मानव बेचबिखनका आयामहरू परिवर्तन भएको महिलाहरू उच्च जोखिममा रहेको बताउँदै उनले तीनै तहका सरकारले प्रभावकारी कार्यक्रम ल्याउन जरुरी भएको उल्लेख गरे। मानव बेचबिखनविरुद्ध सरकारले राष्ट्रिय नीति छिटो बनाएर सोही अनुसार नीति कार्यक्रम तय गरेर जोखिममा परेका वर्ग र समुदायलक्षित कार्यक्रम बनाउन जरुरी भएको औँल्याएका छन्। 

“हाम्रो अहिले सम्म राष्ट्रिय नीति छैन। जोखिममा रहेका जो समुदाय, वर्ग, बालबालिका, किशोर किशोरीहरू र  महिलालाई लक्षित गरी कार्यक्रम बनाउन जरुरी छ,” भट्टराईले भने, “नेपालमा मानव बेचबिखनको एकमुष्ट विवरण दिन सक्ने एकीकृत तथ्यांक प्रणालीको विकास गर्नसमेत आवश्यक छ।”

बुधबार मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस मनाइँदै छ। मानव बेचबिखन तथा ओसारपसार र हिंसालाई नियन्त्रण गर्ने उद्देश्यका साथ २०६४ सालदेखि नेपालमा यो दिवस मनाउन थालिएको हो।