५१ वटा विद्युतीय द्रुत चार्जिङ स्टेसन सञ्चालनमा

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप र कार तथा २५ वटामा  साना/ठूला कार चार्ज गर्न सकिनेछ। 

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारीका लागि ५१ वटा  द्रुत चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रूपमा काठमाडौँको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको चार्जिङ स्टेसनको उद्घाटन गरे।

प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलियत पूर्ण ऋणमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला शहरमा ५१ वटा विद्युतीय सवारी छिट्टो चार्ज गर्न मिल्ने स्टेसन निर्माण गरिएको हो।

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप र कार तथा २५ वटामा  साना/ठूला कार चार्ज गर्न सकिनेछ। 

चार्जिङ स्टेसन सञ्चालनमा आउनु विद्युतीय सवारी साधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्बन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभाव न्युनिकरणमार्फत देशको दिगो विकासमा महत्त्वपूर्ण पाइला भएको मन्त्री बस्नेतले बताए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए। 

विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने भएकाले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने उनको धारणा छ। देशभर थप ५०० चार्जिङ स्टेसन स्थापना गर्न लागेको पनि प्राधिकरणले जनाएको छ। 

चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयूभीमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने छ। नेपालमा उपलब्ध सवारी साधनमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ। 

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाटको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन विलिङ प्रणालीको जडान गरिएको प्राधिकरणले जनाएको छ। चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन्। यसबाट ठूला बससहित तीनवटा सवारी साधनले एक साथ चार्ज गर्न सक्ने छन्।  

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मत सम्भारका लागि चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने छ। सवारी साधन चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्।