साफ यू-१६ च्याम्पियनसिप : नेपाल जितविहीन रहँदै समूह चरणबाट बाहिरियो

चारपटक उपविजेता रहेको नेपाली टोली उपाधि जित्ने लक्ष्यकासाथ भुटान पुगेको थियो।

काठमाडाैँ– नेपाल साफ यू-१६ च्याम्पियनसिपको समूहचरणबाट बाहिरिएको छ। चारपटक उपविजेता रहेको नेपाली टोली उपाधि जित्ने लक्ष्यकासाथ भुटान पुगेको थियो। तर, जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

सेमिफाइनल प्रवेश गर्न 'गर या मर'को स्थितिमा रहेको नेपालले बुधबार थिम्पुस्थित चाम्लिमिथान रंगशालामा सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गरेको थियो। तर, बलमा पकड बनाए पनि गोलमा परिणत गर्न नसक्दा भारतसँग जित हासिल गर्न नेपाल चुक्यो।

खेलको ३३औँ मिनेटमा मिडफिल्डर मोहम्मद अर्बासले भारतलाई अग्रता दिलाए। उनले विशाल यादवले डिबक्सबाट दिएको एअर बललाई फस्ट टचमै जाली चुमाए। त्यसपछि खेलमा कुनै गोल हुन सकेन र भारत १-० ले विजयी भयो।

नेपाल समूहचरणको पहिलो खेलमा बंगलादेशसँग १-० गोलअन्तरले पराजित भएको थियो। बंगलादेश भने पहिलो खेलमा भारतसँग १-० गोलअन्तरले पराजित भएको थियो। जितसँगै भारत ६ अंक जोड्दै समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ।

यता, ३ अंक जोडेको बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ। बंगलादेशले फाइनलमा स्थान बनाउन अब फाकिस्तानसँग खेल्ने छ। समूह ‘बी’ को खेलमा पाकिस्तानले आयोजक भुटानलाई २-१ र माल्दिभ्सलाई ३-० गोलअन्तरले पराजित गरेको थियो।

अंकविहीन रहेका भुटान र माल्दिभ्सले भने बुधबार नै एकअर्काविरुद्ध खेल्ने छन्। विजेता टोलीले फाइनल प्रवेशका लागि भारतसँग खेल्ने छ।