पोखरा विश्वविद्यालयमा बीएएलएलबीको पढाइ

बिएएलएलबीकाे एक समूहमा ४० जना विद्यार्थी भर्ना लिने र शुल्क चार लाख रुपैयाँ लाग्ने पाेखरा विश्वविद्यालयले जनाएकाे छ।

पोखरा– पोखरा विश्वविद्यालयले स्नातक तहमा बिएएलएलबीको अध्यापन शुरु गरेको छ। १० सेमेष्टर प्रणालीको उक्त कार्यक्रम पाँच वर्ष अवधिको हुने छ।

एक समूहमा ४० जना विद्यार्थी भर्ना लिइने र शुल्क चार लाख रुपैयाँ लाग्ने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास तथा कलाजस्ता विषयको एकीकृत अध्ययन गर्ने गरी निर्माण भएको बिएएलएलबी आफ्नो क्षमता अभिवृद्धि गर्न चाहने विद्यार्थीका लागि आकर्षणको विषय बन्ने छ।

यसले विद्यार्थीलाई कानुन व्यवसायी बन्न, कानुनी अध्ययनका लागि विश्लेषणात्मक एवं तार्किक सीप क्षमता अभिवृद्धि गर्न तथा आपराधिक वा वित्तीय मामिलामा पनि जागरूक बनाउने  विश्वास लिइएको ढकालले बताए।

यसको अध्ययनसँगै विद्यार्थी कर्पोरेट कानुन, कानुन फर्म, मध्यस्थता र वार्तालाप, अनुसन्धान, पत्रकारिता, मिडिया वा मनोरञ्जनका क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्न सबल हुन्छन्।

इच्छुक विद्यार्थीले २०७९ मङ्सिर २१ भित्र प्रवेश परीक्षाका लागि दरखास्त दिन सक्नेछन्। प्रवेश परीक्षा मङ्सिर २३ गते हुने छ।