बंगलादेशमाथि पाकिस्तानको सानदार जित, फाइनल पुग्ने सम्भावना बलियो

सुपर फोरमा पाकिस्तान, बंगलादेश, भारत र श्रीलंका छन्। सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन्।

काठमाडौँ– एशिया कपको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ। 

लाहोरस्थित गद्दाफी स्टेडियममा बुधबार राति सकिएको खेलमा सानदार जित दर्ता गर्दै पाकिस्तानले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो।

पाकिस्तानले जितका लागि पाएको १९४ रनको मध्यम लक्ष्य ३९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। पाकिस्तानका ओपनर इमाम उल हकले ८४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए । 

मोहम्मद रिजवान ७९ बलमा ७ चौका र १ छक्कासहित ६३ रनमा नटआउट रहे। फखार जमाम २० र बाबर आजमले १७ रन बताए। 

बंगलादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेश ३८.४ ओभरमा १९३ रन बनाएर अलआउट भयो। बंगलादेशका मुश्फिकुर रहिमले ८७ बलमा ५ चौकासहित सर्वाधिक ६४ रनको योगदान दिए। कप्तान सकिब अल हसन ५३ रनमा आउट भए।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ तथा नसिम शाहले ३ विकेट लिए।

सुपर फोरमा पाकिस्तान, बंगलादेश, भारत र श्रीलंका छन्। सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन्।