आँबुखैरेनीको ऐनापहरा: ढुंगाको आकृतिले तान्दै पर्यटक

ऐनापहरामा गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडियो र टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ। गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना पनि अगाडि सारेको छ।

दमौली– हरियाली जंगल। ठूलो खोँचबाट झरेको पानी। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन। तर, अहिले उक्त ठाउँको स्वरूप फेरिँदैछ। 

गाउँपालिकाले यस स्थानलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने प्रयास गरेको छ। गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्देश्य राखिएको छ। 

ऐनापहराका ढुंगामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम गरिएको छ। ढुंगामा आकृति देखिन थालेपछि यस ठाउँमा सबैको ध्यान खिचेको छ। पृथ्वी राजमार्गबाट नजिकै रहेको यहाँ मुग्लिनतर्फबाट पोखरा आउने पर्यटक सवारी साधन रोकेर पुग्ने गरेका छन्। ढुंगामामा खोपेको आकृतिले धेरैको ध्यान खिचेको स्थानीय मनोजकुमार श्रेष्ठले बताए। राजमार्ग नजिकै भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुने उनको भनाइ छ। 

सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार हुन थालेपछि ऐनापहरा पर्यटकीय गन्तव्यस्थल बनेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए। “गत माघदेखि यहाँका ढुंगामा आकृति बनाउने काम भइरहेको छ। आकृति लगभग अन्तिम चरणमा पुगेको छ,” उनले भने, “यसले आकर्षक देखिन थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढ्यो।”

ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुंगामा आकृति खोप्ने कामलाई अगाडि बढाइएको हो। यत्रतत्र रहेका ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानको भनाइ छ। पार्क निर्माणका लागि एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

“ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ,” चुमानले भने, “सोहीबमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम शुरू भएको छ।” पृथ्वी राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलका रूपमा पनि ऐनापहरा झरना विकास भइरहेको छ। काठमाडौ तथा चितवनबाट पोखरातर्फ आउने र पोखराबाट फर्कने सर्वसाधारण सवारी रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन्। 

गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना पनि अगाडि सारेको छ। शौचालय गत वर्ष नै निर्माण भइसकेको छ। गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडियो र टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ। 

तनहुँकै अग्लो महाभारत पर्वत शृंखला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँडी खोलाको पानी बगेर झरनामा मिसिएको छ। ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको छ। यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ।