बालोन डी’ओरका लागि ३० खेलाडी मनोनयन, रोनाल्डो परेनन्

युरोपियन लिग खेल्ने खेलाडीको बाहुल्य रहेको सूचीमा स्टार फर्वार्ड लिओनेल मेस्सी र ट्रेबल विजेता एर्लिङ हालान्डलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ। 

काठमाडौँ– बालोन डी’ओर २०२३ का लागि ३० खेलाडीको सूची सार्वजनिक भएको छ। 

फ्रान्स फुटबल म्यागाजिनले बुधबार राति उत्कृष्ट पुरुष तथा महिला खेलाडीको सूची सार्वजनिक गरेको हो।

युरोपियन लिग खेल्ने खेलाडीको बाहुल्य रहेको सूचीमा अर्जेन्टिनाका स्टार फर्वार्ड लिओनेल मेस्सी र ट्रेबल विजेता एर्लिङ हालान्डलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ। यदि,  मेस्सीले यो वर्ष पुरुष बालोन डी’ओर जिते भने, यो उनको आठौँ पटक हुनेछ। 

सूचीमा पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो भने परेका छैनन्। यस्तै, डी’ओर अवार्डका लागि इंग्ल्यान्डका जुड बेलिंघम, बुकायो साका र ह्यारी केन र म्यानचेस्टर सिटीका सात खेलाडी मनोनयनमा परेका छन्।

यसैगरी, पेरिस सेन्ट जर्मेन (पीएसजी)का केलियन एम्बाप्पे,  पीएसजी छाडेर हालै अल–हिलाल गएका नेयमार, रियल मड्रिडका भिनिसियस जुनियरलगायत खेलाडी रहेका छन्।

महिलातर्फ भने केही दिनअघि मात्रै युरोपियन वर्ष खेलाडी बनेकी स्पेनकी आइतना बोनमाटी सहितका  खेलाडी मनोनयनमा छन्। स्पेनले बोनमाटीकै कप्तानीमा विश्वकप जितेको थियो।

अवार्ड कार्यक्रम आगामी अक्टोबर ३० मा आयोजना हुनेछ।