महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको ‘रुलिङ’

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण र कान्ति बाल अस्पतालको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए।

काठमाडौँ– सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवं संविधानसभा सदस्य महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको सत्यतथ्यबारे संसद्लाई जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरूले गम्भीर ध्यानाकर्षण गराएपछि उनले सो घटना र कान्ति बाल अस्पतालमा उपचारको अभाव ज्यान गुमाएकी ५ वर्षीया बालिका सम्बन्धित घटनाबारे सम्पूर्ण जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्।

“आजको आकस्मिक, शून्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री श्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरू छन्,” सभामुख घिमिरेले भने, “यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु।”

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण र कान्ति बाल अस्पतालको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए।