राष्ट्रपति पौडेलद्वारा कविता महोत्सवका उत्कृष्ट कविलाई पुरस्कार प्रदान

राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट १० कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा बिहीबार पुरस्कार प्रदान गरेका छन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सवका उत्कृष्ट कविहरूलाई पुरस्कार प्रदान गरेका छन्। 

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट १० कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा बिहीबार पुरस्कार प्रदान गरेका हुन्।

पुरस्कृत कविहरूमा काठमाडौँका मेश पुन (छोरी, सिमाना र देश शीर्षकको कविता), सुनसरीकी कृपा करुणा पोखरेल (रक्तिम कथा), दार्जुलाका खिमानन्द जोशी (ईजा! मुई गोठ नाइँ झान्या हुँ), उदयपुरका जीवन आरोही (प्रश्नहरूको विज्ञप्ति) र रोल्पाका टंकबहादुर झाँक्री मगर (हुन्के बे बड्डा) रहेका छन्।

त्यस्तै, सुनसरीका तीर्थराज विश्वकर्मा (कविले के सम्झियो?), दाङका नवीन अभिलाषी (भेरी : अभिशप्त बगिरहेछ), डोटीका पूर्णानन्द ओझा (सन्निको मान्स), सुनसरीका प्रकाश दिप्साली राई (नौरानको नाम) र काठमाडौँकी राधिका कल्पित (परिचयपत्र) पुरस्कृत भएका हुन्।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले साहित्यको विकासमा सरकारले सदैव सहयोग गर्ने धारणा राख्दै स्रष्टाहरूले नेपाली समाजको सूक्ष्म अवलोकन, अध्ययन र अनुसन्धान गरेर मौलिक रचना सिर्जना गर्नुपर्नेमा जोड दिए। आफ्नो मौलिक रचना विश्व साहित्यमाझ प्रस्तुत गर्नुपर्ने उनको सुझाव थियो। 

प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानका गतिविधि र कविता महोत्सवका विविध पक्षबारे प्रकाश पारेका थिए।