झापाका विभिन्न स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

वर्षा जारी रहेका कारण मेची, विरिङ, निन्दालगायत अन्य साना खोलामा आकस्मिक बाढी आउनसक्ने र होचा भूभागमा डुबानसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।  

काठमाडौँ– झापाका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ।झापाको शनिश्चरे, चन्द्रगढी,कन्काई, अनारमनी आसपास भारी वर्षा भएको भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

वर्षा जारी रहेका कारण मेची, विरिङ, निन्दालगायत अन्य साना खोलामा आकस्मिक बाढी आउनसक्ने सम्भावना छ। साथै होचा भूभागमा डुबानसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईका विभिन्न स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा हुनेछ।