चेपाङ समुदायले न्वागी पर्व मनाउँदै, मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा

नेपाल चेपाङ संघको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ। 

हेटौँडा– चेपाङ समुदायले शुक्रबार न्वागी पर्व मनाउँदै छन्। 

भदौमा नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पर्व मनाउने चलन छ। केही वर्षयता नेपाल चेपाङ संघको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ। 

यस दिन चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमि पूजा गरी पितृलाई खुवाउने गरिन्छ। झाँक्रीले पूजा नगरी गाउँमा नयाँ फलफूल तथा अन्न खाएमा रोगव्याधी लाग्ने विश्वास यो समुदायमा छ। 

यसैबीच, चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)का अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए। 

चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला धादिङ, मकवानपुर र चितवनमा आ–आफ्नो क्षमताअनुसार न्वागी पर्व मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङले जानकारी दिए।