युरोकप छनोट: फ्रान्स, पोल्यान्ड र डेनमार्क विजयी

घरेलु मैदान पार्क डेस प्रिन्समा केलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्सलाई जित दिलाउन औरेलियन टिचौमेनी र मार्कोस थुरामले गोल गरे। 

काठमाडौँ– युरोकप २०२४ छनोटअन्तर्गत बिहीबार राति भएका खेलमा फ्रान्स, पोल्यान्ड र डेनमार्क विजयी भएका छन्। 

फ्रान्सले आयरल्यान्डलाई २–० ले हराउँदै लगातार पाँचौँ जित दर्ता गरेको छ। घरेलु मैदान पार्क डेस प्रिन्समा फ्रान्सलाई जित दिलाउन औरेलियन टिचौमेनी र मार्कोस थुरामले गोल गरे। 

जितपछि फ्रान्स १५ अंकसहित समूह ‘बी’को शीर्षस्थानमा छ। 

यस्तै, अर्को खेलमा नेदरल्यान्डस्‌ले ग्रीसलाई ३–० ले पराजित गरेको छ। नेदरल्यान्डस्‌का लागि मार्टिन डे रुन, कोडी गाक्पो र वाउट वेघोस्टले गोल गरे।

तीन खेलबाट ६ अंक जोडेको नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा उक्लिएको छ। समान अंक रहेको ग्रीस तेस्रो स्थानमा छ।

यसैबीच समूह ‘एच’को खेलमा डेनमार्कले सानमारिनोलाई ४–० ले पराजित गरेको छ। 

डेनमार्कका लागि पिएरे एमिल होएवर्ग, ज्याकिम माहेले, जोनास विन्ड र युसुफ पाउलसेनले गोल गरे। 

उता, समूह ‘ई’ मा पोल्यान्डले फारो आइसल्यान्डलाई २–० ले पराजित गरेको छ।

पोल्यान्डका लागि दुवै गोल रोवर्ट लेवान्डोस्कीले गरेका थिए।