केरुंगेखोला पुल निर्माण अलपत्र, ठेकेदार सम्पर्कविहीन

कावासोती नगरपालिका–३ र ४ जोड्ने पुल २०७७ असारमा निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दासमेत पूरा भएको छैन। 

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुंगे खोलामा पुल निर्माण अलपत्र परेको छ। तीन वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्थामा छ।

“कावासोती नगरपालिका–३ र ४ लाई जोड्ने निर्माणाधीन पुल २०७७ असारमा निर्माण सम्पन्न गर्नुपर्ने थियो,” कावासोती–४ का वडाध्यक्ष नारायणप्रसाद लोहनीले भने, “ठेकेदार काम छाडेर सम्पर्कविहीन भएपछि समस्या भयो।” 

पुल निर्माण २०७५ मा शुरू भएको थियो। पुलको केही भाग निर्माण सकिएको छ। बीच खण्डमा ढलानको काम बाँकी छ। आफूले पटक–पटक फोन गर्दा ठेकेदार सम्पर्कमा नआएको वडाध्यक्ष लोहनीको भनाइ छ। “वडा, पालिकास्तरबाट धेरै पटक ताकेता गर्‍यौँ तर निर्माणको काम अघि बढाउन ठेकेदारले आलटाल गर्दै आएको छ,” उनले भने, “पुल नहुँदा पानी पर्ने बित्तिकै आवतजावतमा समस्या हुने गरेको छ।”

१४० मिटर लम्बाइको पुल १० करोड ५० लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो। तर पटक–पटक म्याद थप गर्दासमेत निर्माण पूरा भएको छैन। पछिल्लो पटक २०८० असारसम्म पुल निर्माण गर्ने गरी म्याद थप गरिएको थियो। यस अवधिमा समेत काम नसकेपछि पुलको काम झनै अन्योल अवस्थामा पुगेको वडाध्यक्ष लोहनीले बताए। 

कावासोती –३ र ४ लाई जोड्ने मात्रै नभएर हुप्सेकोट गाउँपालिकालाई सहज रूपमा सदरमुकाम कावासोती आउने सडकखण्डको पुलसमेत भएकाले जनताले धेरै सास्ती खेप्नुपरेको छ। पुल निर्माणको म्याद सकिएको र केन्द्रबाट म्याद थप भएमा काम अघि बढ्ने सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र महर्जनले बताए। 

‘पुल निर्माण यसअघि नै सक्नुपर्नेमा ढिलो भयो, म्याद थप भएको छैन, केन्द्र सरकारले म्याद थप गरेमात्रै काम अघि बढ्ने हो वा क्षतिपूर्ति तिरेर काम गर्न सक्छ,” उनले भने, “अब वर्षा पनि कम हुन लागेको छ, ठेकेदारलाई चिठ्ठी काट्नुपर्छ।”