आईटी क्षेत्रमा लगानी भित्र्याउन शिखर सम्मेलन गर्ने अर्थमन्त्री महतको घोषणा

अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानी नेपालमा भित्र्याउने गरी ‘लगानी समिट’ आयोजना गर्ने लागिएको बताए।

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै ‘लगानी शिखर सम्मेलन’ गर्ने घोषणा गरेका छन्। 

शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२औँ वार्षिकोत्सवको अवसर पारेर अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानी नेपालमा भित्र्याउने गरी ‘लगानी समिट’ आयोजना गर्ने लागिएको जानकारी दिएका हुन्। 

“अहिले आईटी सेक्टर यो बृहत् सम्भावनाको क्षेत्र छ। त्यसमा मेजर इन्भेस्टरलाई विदेशमा जुन स्थापित आईटी सेक्टरका कम्पनीहरू छन्। तिनीहरूलाई हामीले ल्याउन सक्नुपर्दछ। र, हामी चाँडै अब एउटा लगानी समिट पनि नेपालमा गर्छौं। त्यसका लागि तत्कालै हामी यथेष्ट गृहकार्य पनि शुरू गर्छौं। बजेटमा पनि हामीले बोलेका छौँ,” उनले भने।

उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरू देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढवा पाउने विश्वास व्यक्त गरे। 

नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढ्ने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने समेत अर्थमन्त्री महतले बताए। उनले भारतमा १० हजार मेगावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताए।

अर्थमन्त्री अर्थमन्त्री महतले नेपालमा बाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढंगले पहल गर्ने विश्वाससमेत व्यक्त गरे।