शिक्षा समितिले चिकित्सा शिक्षा क्षेत्रका समस्या अध्ययन गर्न कार्यदल बनाउने

समितिका सभापति भानुभक्त जोशीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याको अध्ययन गर्दै सरोकारवालासँग छलफल गर्न र समाधानका उपायहरू खोज्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको जानकारी गराए।

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल बनाउने भएको छ।

शुक्रबार बसेको समितिको बैठकमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरूको अध्ययन गर्दै समाधानको उपाय खोज्न एउटा कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको हो। कार्यदल भने समितिको आगामी बैठकमा बनाइने भएको छ। 

समितिका सभापति भानुभक्त जोशीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याको अध्ययन गर्दै सरोकारवालासँग छलफल गर्न र समाधानका उपायहरू खोज्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको जानकारी गराए।

शुक्रबारको बैठकमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)सँग छलफल भएको थियो।

समितिको आगामी बैठक भदौ २५ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।