दाङबाट फर्किँदै गरेको बस बाँकेमा दुर्घटना: बर्दियाका ७ जनाको मृत्यु, २९ घाइते

सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा २९ जना घाइते भएका छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

काठमाडौँ– दाङको धारापानीबाट बर्दियातर्फ गइरहेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। 

शुक्रबार राति बाँकेको राप्तीसोनारी गाउँपालिका–९ सम्सेरगन्ज भएको दुर्घटनामा बर्दियाको ठाकुरबाबा–९ स्थित बेतहनी सामुदायिक वनका सदस्यहरूको मृत्यु भएको सोही वडाका अध्यक्ष राधा चौधरीले जानकारी दिइन्। 

उनका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ। “बसमा ४२ जना हुनुहुन्थ्यो। उहाँहरू सबै बेतहनी सामुदायिक वनबाट दाङको धारापानी भ्रमणमा गएर फर्किँदै हुनुहुन्थ्यो,” वडाध्यक्ष चौधरीले भनिन्, “सडकमा रोकेर राखिएको ट्रकमा ठोक्किएर बस दुर्घटना भएको हो।”

दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा कस्तुरी थापा, काँशीराम थारु, रुपा परियार, जयन्त थारु, चानुराम चौधरी र बसचालक गोविन्द ठकुरी रहेका छन्।

घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।