पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिग क्षेत्र

निसीखोला गाउँपालिका–६ मा रहेको रिग क्षेत्र आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ। तालमा फोटो, भिडियो खिच्ने र त्यस वरपरको दृश्यावलोकन गर्नेको भीड लाग्ने गरेको छ।

बागलुङ– घना जंगलको शिरमा हरियाली पहाड। नजिकै राष्ट्रिय लोकमार्ग। बागलुङको रिगताल क्षेत्र यो सिजन निकै मनमोहक देखिन्छ। निसीखोला गाउँपालिका–६ मा रहेको रिग क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ।

एक दशक अगाडिसम्म गुमानाम रिग क्षेत्र अहिले चर्चामा छ। पातीहाल्नेभन्दा केही माथिल्तिर रिग ताल पनि छ। तालमा फोटो, भिडियो खिच्ने र त्यस वरपरको दृश्यावलोकन गर्नेको पछिल्लो समय भीड नै लाग्ने गरेको छ। पातीहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छ। जुन बागलुङ, रोल्पा र पूर्वी रुकुमको संगमस्थल पनि हो।

मध्यपहाडी लोकमार्गले गर्दा पातीहाल्ने चर्चामा आयो। पातीहाल्ने पुग्ने पर्यटक रिग तालमा सहजै पुग्ने हुँदा अहिले चहलपहल बढी छ। वर्षाको समयमा गोठालेले भेडाबाख्रा र बस्तुभाउ चरनका रूपमा प्रयोग गर्थे। हिउँदको समयमा हिउँले ढाकिने यस क्षेत्र सुनसान हुन्थ्यो। तर, अहिले बाह्रै महिना यहाँ आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ।

उच्च पहाडी हावापानी, शान्त वातावरण र यहाँबाट देखिने मनमोहक दृश्यले धेरैलाई तान्ने गरेको छ। निसीखोलाको शिर मानिने पातिहाल्ने लोकमार्ग कालोपत्र भएपछि बढी चर्चामा आएको हो। त्यसभन्दा अगाडि यसको त्यति चर्चा थिएन। यहाँ हिउँदमा बजार क्षेत्रबाट थकान मार्न र गर्मी छल्न त्यहाँ पुग्छन् भने हिउँदमा हिउँ खेल्न जाने गर्छन्। रिग क्षेत्रमा हरेक दिन मान्छेको आवतजावत बाक्लिँदै गएको स्थानीय पुनराम घर्तीमगरले बताए। पछिल्लो समय वर्षा हुँदा पनि पर्यटक गाडी लिएर घुम्न आउने गरेको घर्तीमगरको भनाइ छ।

“रिग तालमा भेडा गोठालाले पानी भररे खान्थ्यौँ, आजभन्दा १५/२० वर्ष अगाडि यो ठाउँ निकै सुनसान थियो, करिब तीन महिना भेडाबाख्रा र गाईभैँसी हुन्थे, त्यसपछि खाली हुन्थ्यो, अलिहे हिउँ पर्दा पनि मान्छे आउँछन्, बर्खा लाग्दा पनि आउँछन्,” घर्तीमगरले भने, “ठाउँ राम्रो छ, सडक पनि सजिलो भएकाले होला रुकुम, रोल्पा र बागलुङका धेरै ठाउँबाट मान्छे आउने गरेका छन्।”

पातीहाल्नेमा होटल तथा बास बस्ने व्यवस्था भएपछि रातिमा पनि पर्यटक रिग तालसँग रम्न पुग्ने गरेका छन्। पर्यटकको चहलपहल बढेपछि यस वरपरको क्षेत्र सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन्। रिगताल तीन हजार २०० मिटर उचाइमा छ। त्यसभन्दा माथिल्लो क्षेत्र करिब चार हजार मिटरको उचाइमा छन्। रिग तालसम्म पुग्ने सडक निर्माणसमेत भएको छ। सडकले तालसम्म पुग्नका लागि पर्यटकलाई सजिलो बनाइदिएको छ। सिमानाबाट गाडीमा पाँच मिनेट र पैदल १५ मिनेटमा रिग ताल पुग्न सकिन्छ। अहिले यहाँ बिदाको दिन बढी आन्तरिक पर्यटक पुग्ने घर्तीमगरको भनाइ छ।

रुकुम पूर्वको सदुमुकाम रुकुमकोटबाट घुम्न आएका मिनबहादुर ओलीले यो क्षेत्र निकै सुन्दर रहेको बताए। “रिग तालको छेउछाउको क्षेत्र मनोरोगीका लागि प्राकृतिक उपचार केन्द्र जस्तो छ, यहाँ आउने भने धेरै मान्छेले आफ्नो मनका पिरव्यथा बिर्सिन्छ,” उनले भने, “बिदाको दिन त धेरै भिडभाड हुँदो रहेछ, म हिँउ पर्दा पनि आएको छु निकै रमाइलो हुन्छ।”

रिग क्षेत्र निसीखोलाको शिरमा पर्छ। रिगतालको नाम मगर खाम भाषाबाट बनेको हो। ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात् एकै ठाउँ जमेको भन्ने बुझाउँछ। यस तालबाट बागलुङको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घाखाँची, पर्वतलगायत जिल्ला र माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिसहित दर्जनौँ हिमशृंखला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले पातीहाल्नेदेखि रिग तालसम्म सडक निर्माण गरे पनि सीमा विवादका कारण अन्य पूर्वाधार निर्माण गर्न नसकिएको बताए। छ वर्षअघि भएको प्रवेशद्वार निर्माण विवाद भएको अहिलेसम्म टुंगिएको छैन।