शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट साँझ ७ बजे नै हात्तीको बथान धानखेतमा छिर्ने बिहान मात्रै फर्कने गरेका छन्।
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जंगली हात्तीको बथानले नष्ट गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले धानबालीमा क्षति पुर्याएको हो।
स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जंगली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित छन्। आफूले लगाएको सबै धान जंगली हात्तीले सखाप पारेको उनको भनाइ छ।
“बीउ, मलखाद, सिँचाइ, जोताइ र रोपाहार गरी ३० हजार रुपैयाँ बढी खर्च गरेर धान रोपेको थिएँ,” तमोलीले भने, “गए राति आएको हात्तीको बथानले एकैछिनमा स्वाहा बनाइदियो।” पछि खानका लागि धान खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ ७ बजेतिर हात्तीको बथान धानखेतमा छिरेका स्थानीय जया धामीले बताइन्। उनका अनुसार पछिल्लो तीन दिनयता यसरी जंगली हात्ती गाउँ पस्न थालेका छन्।
“धान पूरै खाएर अघाएपछि उज्यालो हुनुअघि मात्रै हात्तीको बथान फर्कने गरेका छन्,” धामीले भने, “खाएर र खुट्टाले कुल्चेर धानबालीमा पूरै क्षति पुगेको छ।” हात्तीको बथान होहल्ला गरेर, टिन बजाएर, आगो बालेर र पटाका पड्काएर पनि नभाग्ने गरेको स्थानीय बताउँछन्।
“खेतमा पसेको हात्तीको बथान भगाउन रातभरि खेतमै जाग्राम बस्दै आएका छौँ,” स्थानीय जंगी साउदले भने, “हात्तीको बथान कुनै पनि हालतमा भाग्दैन, पेट भरिएपछि मात्रै निकुञ्जतर्फ लाग्ने गरेका छन्।”
वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार हात्तीले धानबालीमा क्षति पुर्याउन थालेपछि निकुञ्ज कार्यालयलाई नियन्त्रणका लागि आग्रह गरिएको छ। “हात्तीलगायतका जंगली जनावर नियन्त्रणका लागि धेरै पहिलेदेखि नै विद्युतीय मेसवायर जडानको माग गर्दै आएका छौँ,” उनले भने, “त्यसको सुनवाइ हुनसकेको छैन।”
नगरपालिकाबाट मेसवायर जडानका लागि बजेटको व्यवस्था हुन नसक्दा प्रदेश र संघ सरकारसँग माग गरिएको वडाध्यक्ष खड्काले सुनाए। सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र प्रदेशसभा सदस्य ओमविक्रम भाटसँग पनि स्थानीयले हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था मिलाउन माग गरेका छन्।
मन्त्री धामीले मन्त्रालयबाट बजेट विनियोजन गरी मेसवायर जडान हुन नसकेका क्षेत्रमा तत्काल कार्य अगाडि बढाइने प्रतिबद्धता जनाए। निकुञ्ज नजिकैका गर्जमुनि र खजुवा क्षेत्रमा प्रत्येक वर्ष जंगली हात्तीले धान, गहुँ, तरकारी लगायतबालीमा क्षति पुर्याउँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
