कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने: माधवकुमार नेपाल

कोशीमा पुनः निर्वाचन भए अहिलेभन्दा दोब्बर बढी सिट ल्याउने अध्यक्ष नेपालको दाबी छ।

काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा पुनः निर्वाचन हुनसक्ने संकेत गरेका छन्। 

शनिबार एकीकृत ट्रेड यूनियन महासंघको कार्यक्रममा अध्यक्ष नेपालले कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताए। आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको उनको भनाइ थियो।

“कोशीमा अब विकल्प कि मिलेर जानु ,कि अरूलाई साथ दिनु कि त चुनावमा जानु हो,” अध्यक्ष नेपालले भने, “हामीलाई त फरक पर्नेवाला छैन। हाम्रो साथीहरूको हिसाब के छ भने, चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदा नै हुन्छ।” 

कोशीमा पुनः निर्वाचन भए अहिलेभन्दा दोब्बर बढी सिट ल्याउने उनको दाबी छ। “अहिले हामीसँग त्यहाँ चार सिट छ, त्यो सिट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौँ भन्ने विश्वासमा छौँ,” उनले भने, “अरू पार्टीको सातो गएको छ। यत्रो ठूलो संख्या छ। अर्को पटक त २० भन्दा बढ्दैन भनेर डराएका छन्।”

आफूहरू भ्रष्ट नभएको भन्दै अध्यक्ष नेपालले कसैले औला उठाउँदैमा आत्तिन नपर्ने बताएका छन्।