मोरक्को भूकम्प: मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

सुतिरहेको समयमा भूकम्प गएपछि स्थानीय मध्यरातमा घर छाडेर भागेका थिए। अधिकांश पीडितहरू घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।

मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार ३७ पुगेको छ।

कम्तीमा एक हजार २०० जना घाइते भएको मोरक्कोको गृह मन्त्रालयले जनाएको छ। स्थानीय समयअनुसार शुक्रबार राति ११:११ मा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। 

भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका छन्। यस्तै, मराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। 

सुतिरहेको समयमा भूकम्प गएपछि स्थानीय मध्यरातमा घर छाडेर भागेका थिए। अहिले अधिकांश पीडितहरू घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।

शक्तिशाली भूकम्पपछि साना–साना धक्का आइतबारसम्म पनि महसुस गरिएको मोरक्कोका सञ्चार माध्यमले बताएका छन्।

शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन्।