सत्ता गठबन्धनले बागी उम्मेदवारलाई निस्तेज पार्न अधिकतम प्रयास गर्ने

बैठकले बागी उम्मेदवारलाई निस्तेज पार्ने विषयमा ध्यान दिन गठबन्धन दलका शीर्ष नेतालाई पुनः ध्यानाकर्षणसमेत गराएको छ।

काठमाडौं– सत्तारूढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठेका बागी उम्मेदवारलाई निस्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ।

शनिवार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको सत्तारूढ गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो।

सत्तारूढ गठबन्धनमा आबद्ध दलका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारलाई निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय लिइएको निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेश आचार्यले बताए। बैठकले बागी उम्मेदवारलाई निस्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेतालाई पुनः ध्यानाकर्षणसमेत गराएको छ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै समितिका सदस्य आचार्यले भने, "जहाँ गठबन्धनका विरुद्ध गठबन्धनको उम्मेदवारी छ। त्यसलाई निष्क्रिय गराउनका लागि अधिकतम प्रयास गर्ने निर्णय गरिएको छ। र, त्यसका लागि आवश्यकताअनुसार हरेक दलका पार्टीको नेतृत्वलाई आ–आफ्नो तर्फबाट आग्रह गर्ने निर्णय भएको छ।"

बैठकमा एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उल्लङ्घन गरिरहेको विषयमा पनि छलफल भएको थियो । निर्वाचन आयोगलाई त्यसबारे सचेत गराउने निर्णय पनि गरेको नेकपा (एकीकृत समाजवादी)का नेता लक्ष्मण केसीले बताए।