अलैँचीको मूल्य बढेपछि किसान उत्साहित

मूल्य बढे पनि यस वर्ष फूल लाग्ने समयमा खडेरी लागेको, असिना परेको र कतिपय ठाउँमा अज्ञात रोगले अलैँची मरेका कारण उत्पादनमा भने ह्रास आउने कृषकको भनाइ छ। 

कृषकसँग अलैँची खरीद गर्दै फुङलिङका व्यावसायी दीनेश अधिकारी। तस्वीर: रासस

फुङलिङ– पूर्वी पहाडमा गत वर्षभन्दा दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै मूल्य पनि बढेको हो। 

नयाँ अलैँचीले राम्रो मूल्य पाउँदा संलग्न किसान तथा व्यावसायी उत्साहित भएका छन्। ताप्लेजुङको फुङलिङ बजारमा हिजोआज अलैँची प्रतिमन (४० किलोग्राम) ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अलैँचीको मूल्य गत वर्ष २४ देखि २७ हजार रुपैयाँ प्रतिमन थियो। 

सिजनको शुरूआतमा नै अलैँचीको मूल्य बढेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले बताए। मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले कारोबार भइरहेको अलैँचीको मूल्य धेरै राम्रो भएको उनको भनाइ छ। 

भारतसहितका मुलुकबाट माग रहेकाले शुरूमा नयाँ अलैँचीले राम्रै मूल्य पाएको व्यावसायीको भनाइ छ। अहिलेको मूल्य पछिसम्म कायम रहे वा थप वृद्धि भए राम्रो फाइदा हुने कृषक भीम गुरुङले बताए। “यो त धेरै राम्रो भाउ हो। पहिले २० हजारमा पनि बेचेको हो,” उनले भने, “यही मूल्य कायम रहे बीचमा अलैँची खेती छाडेका कृषक पनि पुनः फर्किन्छन्।” 

नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको भरमा रहेको हुँदा अनिश्चित हुने गरेको छ। यता यस वर्ष अलैँची उत्पादनमा भने निकै गिरावट आउने कृषकको भनाइ छ। फूल लाग्ने समयमा खडेरी लागेको, असिना परेको र कतिपय ठाउँमा अज्ञात रोगले अलैँची मरेका कारण उत्पादनमा ह्रास आउने कृषक गुरुङले बताए। 

त्यस्तै गत असार–साउनमा गएको बाढीपहिराले समेत अलैँचीखेती बगाएका कारण उत्पादनमा कमी आउने सिदिङ्वा गाउँपालिका–६ मेहेलेका प्रेम बुढाक्षेत्रीले बताए। ताप्लेजुङमा करिब चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुने गरेको छ। 

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार वार्षिक दुई हजार ५०० मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको छ।