तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुनेछ।
काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्म जयन्तीका अवसरमा आइतबारदेखि तीन दिनसम्म ‘बीपी साहित्य महोत्सव, २०८०’ आयोजना गर्दैछ।
महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र बिहान ९ बजे महोत्सवको उद्घाटन हुने कांग्रेसले जनाएको छ । महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्। महोत्सव भदौ २६ गतेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ।
कांग्रेसले कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बीपी जन्म जयन्तीका रूपमा मनाउँदै आएको छ। तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
पहिलो दिन आइतबार ‘हाइज्याकिङ फर डेमोक्रेसी’ वृत्तचित्र प्रदर्शनका साथ महोत्सव शुरू हुनेछ। त्यसपछि बीपीको साहित्य सिर्जना र जीवन दर्शन विषयमा अभि सुवेदीले सम्भाषण दिनेछन्।
बीपी दृष्टिमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य शीर्षकका आख्यान र साहित्यमा अलग–अलग सत्र सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ। पहिलो दिनको अन्तिममा २० कविबाट कविता साँझको आयोजना गरिने छ।
दोस्रो दिन भदौ २५ गते बिहान ‘वीर गणेशमान’ चलचित्र प्रदर्शन गरी महोत्सवको शुरूआत गरिनेछ। ‘मार्क्स, गान्धी र बीपी, आजको लोकतान्त्रिक समाजवादको खोज’ विषयमा आनन्द कुमारले सम्भाषण दिनेछन्। त्यसपछि बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, युवा स्रष्टामा बीपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन्। दोस्रो दिनको अन्तमा ३० गजलकारबाट गजल साँझ आयोजना हुने छ।
तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको शुरूआत गरिने छ। त्यसपछि बीपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनेछन्। त्यसपछि समावेशिता, सामाजिक रूपान्तरण र बीपी, समय र सबाल्र्टन, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी विषयमा अलग–अलग सत्र सञ्चालन हुनेछन्। अन्तिममा सांगीतिक साँझसँगै महोत्सव समापन गरिने विश्वकर्माले जनाए।
पहिलोपटक आयोजना गर्न लागिएको यस महोत्सवमा कांग्रेसले सहभागिताका लागि प्राज्ञिक तथा विद्वान बुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सम्पूर्णलाई अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
