आत्महत्या रोकथाम दिवस: रोकथाम गर्न सचेतना कम

आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै संकेत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाको भनाइ छ।

तस्वीर: रासस

काठमाडौँ– नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम नभएको मनोविद् तथा मनोचिकित्सकले बताएका छन्। 

आइतबार नेपालमा पनि विभिन्न कार्यक्रमका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ। एक दिन दिवस मनाउने मात्र नभई वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञको जोड छ। 

सरकारले रोकथामका नीति ल्याउनुपर्ने, संघसंस्थाले पनि सचेतनामूलक गतिविधि सञ्चालन गर्नुपर्ने र सञ्चारमाध्यमले पनि सोहीअनुरूप समाचार सम्प्रेषण गर्नुपर्ने मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाको भनाइ छ।  आत्महत्याका घटना बढे पनि नेपालमा त्यसप्रति कुनै पनि निकाय गम्भीर नभएको उनले बताए। 

नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ। पछिल्लो १० वर्षको तथ्यांकअनुसार ५६ हजार बढीले आत्महत्या गरेका छन्। नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले आत्महत्याका घटना बढ्दो क्रममा रहेको बताए। 

गत आर्थिक वर्ष मात्रै झन्डै सात हजारले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०६०/०७० सालमा चार हजार ५०० जनाले आत्महत्या गरेकामा १० वर्षपछि आव २०७९/०८० मा सात हजार पुग्नु चुनौतीपूर्ण अवस्था रहेको मनोविद् डा. ठगुन्नाको भनाइ छ। अझ कोभिड–१९ को समयमा आत्महत्या गर्नेको संख्या बढेको थियो। यसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा हेरेर रोकथामतर्फ लाग्नुपर्नेमा उनको जोड छ। 

“आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै संकेत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिन्छ,” मनोविद् डा. ठगुन्नाले भने, “परिवार वा अरूले बेवास्ता गरेमा मात्रै ऊ आत्महत्याको बाटो रोज्न पुग्छ। त्यसैले परिवारले ख्याल गर्नुपर्छ।”