मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो, ३ दिन राष्ट्रिय शोकको घोषणा

मृत्यु हुनेमा धेरैजसो भूकम्पको केन्द्र नजिकैको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा छन्। सडकसमेत क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ। 

मोरक्कोमा विनाशकारी भूकम्पमा परी दुई हजार १२ जनाले ज्यान गुमाएका छन्। भूकम्पमा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न त्यहाँको सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। 

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। मोरक्कोमा शुक्रबार राति ११: ११ मा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पको केन्द्रबिन्दु मोरक्कोको चौथो ठूलो शहर माराकेसबाट ७० किलोमिटर दक्षिणपश्चिम रहेको अल हाउज प्रान्त नजिक रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। 

भूकम्पमा परी मृत्यु हुनेमा धेरैजसो भूकम्पको केन्द्र नजिकैको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा छन्। भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ। 

रेडक्रस सोसाइटी अफ चाइनाले शनिबार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारका लागि दुई लाख अमेरिकी डलर सहयोग गरेको छ।

अरब लिग, इजिप्ट, यूएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिबियालगायत देशले पनि सहयोग गरेका छन्।