सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने– चीन भ्रमण फलदायी हुनेछ, छिमेकीलाई विश्वासमा लिन नेताहरूको सुझाव

सिंहदरबारमा भएको छलफलमा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने तथा विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समीक्षा जरुरी रहेको बताएका थिए।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलहरूसँग छलफल गरेका छन्। 

आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्व परराष्ट्रमन्त्रीलगायत नेता सहभागी थिए। 

सो क्रममा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने तथा विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समीक्षा जरुरी रहेको बताएका थिए। यस्तै, दुवै देशले एक–अर्काको सुरक्षालगायत दुईपक्षीय चासोका विषयमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सक्ने विषयमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्ने विषयमा ध्यान दिन नेताहरूले सुझाएका थिए। 

छलफलमा बोल्दै प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिए। त्यसका लागि आवश्यक गृहकार्य गरिएको उनको भनाइ थियो। “यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो। यहाँ तपाईँहरूले जुन सुझावहरू दिनुभएको छ। ती महत्वपूर्ण छन्,” प्रधानमन्त्री दाहालले भने, “यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ। भ्रमण फलदायी र प्रभावकारी हुन्छ।”

सरकारले दुवै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रस्ट्याउँदै प्रधानमन्त्री दाहालले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको उल्लेख गरे। संयुक्त राष्ट्र संघको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेपालले खेलिरहेको भूमिकालगायत विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपिल गर्ने उनको भनाइ छ। 

कूटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्र संघको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको र भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने प्रधानमन्त्री दाहालले जनाएका छन्। 

बैठकमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, परराष्ट्रमन्त्री एनपी साउद, नेताहरू महन्त ठाकुर, सिके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, प्रदीपकुमार ज्ञवाली, डा. विमला राई पौड्याललगायत सहभागी थिए।