ओलीले संविधानको मनपरी प्रयोग गर्नुभयो, हामीले सत्ताबाट हटायौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताए।

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचन देशलाई कता लैजाने भन्नेमा निर्भर रहेको बताएका छन्। शनिबार चितवनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले लोकतन्त्र, गणतन्त्रलाई स्थायी बनाउन आवश्यक भएकाले संविधानको रक्षा गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारबाट हटाएको बताए। उनले ओलीले सत्तामा रहँदा संविधानलाई मनपरी रूपमा प्रयोग गरेर संसद् विघटन गरेको उल्लेख गरे।

"ओलीजीले मध्यरातमा संसद् विघटन गर्नुभयो, दुईपल्ट। जबकि, अहिलेको संविधानमा मनपरी तरिकाले संसद् विघटन गर्ने अधिकार नै छैन कुनै पनि प्रधानमन्त्रीलाई। ओलीले यो संविधान उहाँको खेल हो जस्तो गरेर संसद् विघटन गर्नुभयो। हामी फिर्ता गर्ने काममा लाग्यौँ र सफल भयौँ," उनले भने।

प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताए। चितवनबाट नै स्थानीय तहको निर्वाचनमा पनि सत्तारूढ गठबन्धनले विजयी हासिल गरेको उल्लेख गर्दै प्रतिनिधिसभामा पनि जिताएर चितवनका जनताले गठबन्धनको जितको श्रेय लिनुपर्ने बताए।

विकासको नयाँ मार्ग खोल्छौँ: प्रचण्ड
त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिगामी र अवसरवादी तत्त्वलाई फेरि देशमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन आम मतदाताले आसन्न निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए।

अध्यक्ष दाहालले फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले निर्वाचनमा एकता प्रदर्शन गर्नुपर्ने धारणा राखे। निर्वाचनलाई अग्रगमन रोज्ने र कि प्रतिगमन रोज्ने जनमत सङ्ग्रहको रूपमा अर्थ्याउँदै उनले नेपाली जनताले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वाससमेत व्यक्त गरे।

"मंसिर ४ गतेको निर्वाचनमा पनि देशभरिका जनताले गठबन्धनको नेतृत्वअन्तर्गत गठबन्धनका हाम्रा उम्मेदवारलाई अत्यधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरि राजनीतिक दुर्घटना गर्न प्रतिगामी र अवसरवादी तत्त्वहरू पूरै पराजित हुने छन्। र, स्थिरता र विकासको एउटा नयाँ मार्ग खुल्ने छ," उनले भने।

अध्यक्ष दाहालले सत्तारूढ गठबन्धनले चुनाव जिते मात्रै मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने जिकिर गरे। उनले संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारूढ दलबीच गठबन्धन गर्नुपरेको पनि पटक पटक दोहोर्‍याए।