नेपालमा पहिलाेपटक अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

च्याम्पियनसिपमा भारत, बंगलादेश र नेपाल गरी तीन राष्ट्रका खेलाडीले खेल्नेछन्।

काठमाडाैँ– नेपालमा पहिलाेपटक अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुन लागेकाे छ। नेपाल तेक्वान्दो संघले आइतबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ २७ देखि ३१ गतेसम्म '११ औं कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियाेगिता'  आयोजना हुने जनाएको हो।

नेपालस्थित दक्षिण कोरियाको दूतावास र संघको आयोजनामा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका संस्करण राष्ट्रियस्तरमा मात्र सीमित थिए। च्याम्पियनसिपमा भारत, बंगलादेश र नेपाल गरी तीन राष्ट्रका खेलाडीले खेल्नेछन्।

नेपाली राष्ट्रिय तेक्वान्दो टोली चीनमा आयोजना हुने १९ औं एसियाडको तयारीमा रहेकाले राष्ट्रिय टोलीबाहेक खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिए। 

यस प्रतियाेगितामा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार ७७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने संघका उपाध्यक्ष चन्दले बताए। पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) मा ३२ गरी कुल ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपमा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। ती देशका खेलाडी पनि एसियाडको तयारीमा रहेकाले दोस्रो रोजाइका खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताका लागि संघका उपाध्यक्ष चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ भने सो समितिअन्तर्गत १० वटा उपसमितिहरू छन्। प्रतियोगिताका लागि ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयंसेवकहरू तय गरिएको संघले जनाएको छ।

प्रतियोगिताको लागि करिब ३५ लाख रुपैयाँ लागत लाग्ने आयोजक जनाएको छ। त्यसमा कोरियाली दूतावासबाट करिब पाँच हजार अमेरिकी डलर र प्रतियोगिताका लागि खेलाडी दर्ताबाट करिब १७ लाख रुपैयाँ प्राप्त हुने संघका उपाध्यक्ष चन्दले जानकारी दिए। प्रतियोगिता सञ्चालन गर्न बाँकी रकम भने संघले व्यवस्थापन गर्नेछ।