देशभर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भूभागको मौसम सामान्यतया बदली रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। 

नेपालमा भारतको मध्यप्रदेश र आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती,  गण्डकी,  लुम्बिनी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

लुम्बिनीको एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, गण्डकी र बागमतीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ।