निर्वाचन आचारसंहिता उल्लङ्घनमा उम्मेदवार, नगरप्रमुख र वडाध्यक्षलाई जरिवाना

आयोगले प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको जनाएको छ। 

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको उल्लङ्घनमा उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई जरिवाना तिराएको छ।

स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै आयोगले बाराको पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धरसिंह जैसवाललाई २५ हजार जरिवाना तिराएको छ। 

वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगरप्रमुख सिंहमाथि जरिवाना गरिएको हो। आयोगले उक्त नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्चबाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई लेखी पठाएको छ।

आयोगले काठमाडौं- १ का उम्मेदवार पुकार बमलाई पाँच हजार जरिवाना गरेको छ। उनले निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो नाम अङ्कित टिसर्टको प्रयोग गरेको आयोगले जनाएको छ।

आयोगले काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई पनि पाँच हजार रुपैयाँ जरिवाना गरेको छ। आचारसंहिता विपरीत उम्मेदवारलाई भोट मागेकाले उनलाई जरिवाना गरिएको आयोगको भनाइ छ।

यसैगरी, आयोगले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई पनि पाँच हजार जरिवाना गरेको छ। राजनीतिक गतिविधिमा संलग्न भएको पाइएपछि उनलाई जरिवाना गरिएको आयोगले जनाएको छ

आयोगले अछामको साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई पनि पाँच हजार जरिवाना गरेको छ। आयोगले कुँवरलाई नेकपा (एमाले)को चुनाव प्रचारप्रसारमा लागेका भन्दै जरिवाना गरेको हो। 

जनता आधारभूत माविका शिक्षक जिवछ यादवलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको आयोगले जनाएको छ। आयोगले प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको पनि जनाएको छ।