सरकारले किन बोलायो श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौँ?

विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोगका प्रमुखलाई काठमाडौँ बोलाएका छन्।

श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करी नियन्त्रणबारे छलफल गर्न राजदूत र नियोगका प्रतिनिधिलाई काठमाडौँ बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री दाहालकै अध्यक्षतामा बस्ने बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहने छ।

बैठकमा श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिकाका, वैदेशिक श्रम स्वीकृतिदेखी कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्यालगायत विषयमा छलफल हुनेछ। 

त्यस्तै, विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा पनि छलफल केन्द्रित हुने आचार्यले बताए। बैठक सोमबार र मंगलबार चल्नेछ।