तीव्र आलोचनापछि स्पेनिस फुटबल महासंघका अध्यक्षको राजीनामा

विश्वकप विजेतासहित ८१ खेलाडीले रुबियालेस आफ्नो स्थानमा रहेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने बताएका थिए।

काठमाडौँ– महिला विश्वकपको फाइनलपछि फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेको भन्दै आलोचना भएपछि स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन्।

३३ वर्षीया हर्मोसोले उक्त चुम्बन सहमतिमा नभएको जनाउँदै गत मंगलबार कानूनी उजुरी दिएकी थिइन्। 

रुबियालेसले चुम्बन आपसी सहमतीमा भएको दाबी गरे पनि  फुटबलको सर्वोच्च निकाय फिफाले अस्थायी रूपमा निलम्बन गरेको थियो। रुबियालेसले सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई आफ्नो राजीनामा बुझाएको बताएका छन्।

“म मेरो काम जारी राख्न सक्दिन,” उनले भनेका छन्, “फिफाले गरेको निलम्बनपछि, यो स्पष्ट छ कि म आफ्नो स्थितिमा फर्कन सक्षम हुनेछैन।”

साथै, उनले यूईएफएको कार्यकारी समितिको उपाध्यक्ष पदबाट पनि राजीनामा दिएका छन्।चुम्बनका कारण स्पेनी पुटबल विवादित बनेको थियो। यसले स्पेनको विश्वकप जितलाई समेत छायामा पारिदिएको थियो। 

विश्वकप विजेतासहित ८१ खेलाडीले रुबियालेस आफ्नो स्थानमा रहँदा राष्ट्रिय टोलीबाट नखेल्ने बताएका थिए। राजनीतिज्ञ, फुटबलर र सेलिब्रेटीहरू पनि रुबियालेसको विरुद्धमा बोलेका थिए।

उनको राजीनामा माग गर्दै गत साता महासंघको मुख्यालयमा प्रदर्शनसमेत भएको थियो। स्पेनको कानुन अनुसार यौन दुर्व्यवहारको कसुरमा जरिबानादेखि चार वर्षसम्मको जेल सजाय हुन सक्छ।