राष्ट्रिय प्रसारण लाइनमा जोडियो मुगु, अब हुम्ला मात्र पुग्न बाँकी

मुगु राष्ट्रिय प्रसारण लाइनमा जोडीएसँगै ७७ वटा मध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ।अब हुम्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ।

काठमाडौँ– कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा जोडिएको छ। 

नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट करिब ८५ किलोमिटर लाइन निर्माण गरी सदरमुकाम गमगढीसम्म विद्युत् पुर्‍याएको हो।

प्राधिकरणले आइतबारदेखि गमगढीलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति गर्न थालेको छ। मुगु राष्ट्रिय प्रसारण लाइनमा जोडीएसँगै ७७ वटा मध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ।अब हुम्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ। यसका लागि ठेक्का सम्झौता भएर काम  शुरू भइसकेको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् बेलाबेला बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या समाधान हुने बताए। अब त्यहाँ विद्युतीकरण तीव्र रूपमा अगाडि बढाइने उनको भनाइ छ। अहिले मुगुमा प्राधिकरणका तीन हजार ५०० घरधुरी ग्राहक छन्।

गत वर्षको असोजमा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत् गृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो। प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत् आपूर्ति दिएको थियो। बाढी पहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युत् गृहको एक हजार १०० मिटर लामो नहरमध्ये झन्डै ७०० मिटरमा क्षति पुर्‍याएको थियो।

यसैगरी, बाढी पहिरोबाट विद्युत् गृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको थियो। बाढी पहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मत जलविद्युत्‌गृह सञ्चालनमा ल्याइएको थियो।

मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगढीमा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरणका कर्णाली प्रदेश प्रमुख शम्भु कुसियत यादवले बताए।