ब्राजिलमा शक्तिशाली चक्रवात: ४४ जनाको मृत्यु, ४६ बेपत्ता

ब्राजिलका उपराष्ट्रपति गेराल्डो अल्कमिनले चक्रवातबाट प्रभावित प्रत्येक व्यक्तिलाई १६० अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

तस्वीर: रोयटर्स

ब्राजिलको दक्षिणी भागमा आएको चक्रवातका कारण ४४ जनाको मृत्यु भएको छ। अन्य ४६ जना बेपत्ता भएको स्थानीय नागरिक सुरक्षा निकायले जनाएको छ।

आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको रियो ग्रान्डे डो सुल राज्यका ६० वटा शहर र छिमेकी राज्य सान्टा क्याटारिनाका केही क्षेत्रमा मुसलधारे वर्षा, प्रतिघण्टा ११० किलोमिटरभन्दा बढीको हावाहुरी र बाढीपहिरो गएको थियो ।

तीमध्ये एक जनाबाहेक सबै जनाको मृत्यु रियो ग्रान्डे डो सुलमा भएको थियो, जहाँ २२४ जना घाइते भएका थिए भने १४ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको थियो ।

सबैभन्दा बढी प्रभावित शहर मुकुममा १६ र रोका सेल्समा १० जनाको मृत्यु भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। 

ब्राजिलका उपराष्ट्रपति गेराल्डो अल्कमिनले आइतबार उक्त क्षेत्रको भ्रमण गरी चक्रवातबाट प्रभावित प्रत्येक व्यक्तिलाई १६० अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका थिए।