इलाम–१ का सांसद बस्नेतले इलामको मियो ढलेको प्रतिक्रिया दिएका छन्। देश र जनताका लागि नेम्वाङले पुर्याएको योगदान अतुलनीय रहेको उनको भनाइ छ।
फिक्कल– इलाम–२ का संघीय सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ। उनी २०५६ सालदेखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए।
राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ रहेको इलाम–१ का संघीय सांसद महेश बस्नेतले बताए। इलामबजार नजिकै सुन्तलाबारीमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए।
२०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परे। २०४८ र २०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए। २०५६ सालको संसदीय निर्वाचन जितेर नेम्वाङ सार्वजनिक लेखा समिति सभापति बनेका थिए।
जनआन्दोलन २०६२/०६३ पछि पुनःस्थापित संसद्को सभामुख भए। २०६४ र २०७० सालमा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भए। संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए। चारपटक सभामुख हुँदा उनी सधैँ सर्वसम्मत नै बने।
नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन्। नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति बेहोर्नुपरेको अधिकांशको भनाइ छ।
इलाम–१ का सांसद बस्नेतले इलामको मियो ढलेको बताए। देश र जनताका लागि नेम्वाङले पुर्याएको योगदान अतुलनीय रहेको उनको भनाइ छ।
गत आमनिर्वाचनमा नेम्वाङसँग पराजित भएका कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताए। “पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ,” उनले भने, “इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो।”
एकीकृत समाजवादी इलामका अध्यक्ष भक्त केसीले नेम्वाङको अभाव नेपाली राजनीतिमा सधैँ खड्किरहने बताए। “उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो,” उनले भने, “हामीलाई उहाँको अभाव सधैँ खड्किरहने छ।”
राजजनीतिमा कम चासो नभएका इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन्। “म धेरै राजनीति त जान्दिनँ तर उहाँको ब्यक्तित्वबाट प्रभावित थिएँ। एकाबिहानैको खबरले स्तब्ध भएँ,” इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भने।
माओवादी केन्द्रका जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा नेम्वाङले चालेको कदम बिर्सन नसकिने बताए। “कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुहुन्थ्यो,” उनले भने, “सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु।”
माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले नेम्वाङले देखाएको बाटोमा इलाम अघि बढ्ने बताए। “उहाँले देख्नुभएको समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
