सुवास नेम्वाङ हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो: ओली

लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैँ सम्झिरहने ओलीले उल्लेख गरेका छन्।

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना लागि सुवासचन्द्र नेम्वाङ पार्टीको उपाध्यक्ष मात्रै नरहेको बताएका छन्। 

नेम्वाङको निधनपछि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिँदै ओलीले हितैषी साथीका रूपमा स्मरण गरेका हुन्। 

“मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,” ओलीले भनेका छन्। लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैँ सम्झिरहने ओलीको भनाइ छ।

उनले लेखेका छन्, “लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैँ सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”

नेम्वाङको मंगलबार बिहान १:३० मा हृदयघातबाट निधन भएको थियो।