डा. पुष्पराज रिजालले साँझ ६ बजे नेम्वाङलाई फोन गरेका थिए। त्यसबेला नेम्वाङले नै उनलाई आउनुपर्दैन भनेर आश्वस्त पारेका थिए। रिजाल भन्छन्– ‘म ठीक छु। खाना खाएँ। तपाईं आउनु पर्दैन, तनाव नलिनुस् भन्नुभयो।’
काठमाडौँ– संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सोमबार एमाले संसदीय दलको कार्यालयमा भेटघाट र वैठकका पूर्वनिर्धारित कार्यक्रमहरू थिए।
यद्यपि आइतबार सुनसरीबाट फर्केपछि उनी संसद्को कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा सहभागी भएका थिए। त्यसपछि ज्वरो र रुघा लागेकाले संसदीय दलको कार्यालयमा आयोजना गरिएका पूर्वनिर्धारित कार्यक्रमहरू भने रद्द गरिएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए।
उनका अनुसार नेम्वाङमा पहिलेदेखि नै मधुमेह (सुगर) र उक्त रक्तचाप (ब्लड प्रेसर) को समस्या थियो। चिकित्सकको सल्लाहअनुसार उनले सुगर र ब्लड प्रेसरको औषधि नियमित खाइरहेका पनि थिए। तर सोमबार बिहान जाँच गर्दा उनको रगतमा सुगरको मात्रा चाहिनेभन्दा कम देखिएको थियो। संसद् सचिवालयका स्वास्थ्यकर्मीले उनको रगत जाँच गरेका थिए।
सुगर बढाउने खाना खाएपछि दाह्री काटेर घरमै आराम गर्ने भन्दै उनी घरमा बसेका थिए। ज्वरो आएपछि संसद् सचिवालयका चिकित्सकले घरमा आएर उनको रक्तचाप तथा ज्वरो नापेका थिए। ज्वरो १०२ डिग्री फरेनहाइट थियो। रक्तचाप भने सामान्य अवस्थामा रहेको स्वकीय सचिव काफ्ले बताउँछन्।
नेम्वाङले तीन/तीन महिनामा पूर्ण स्वास्थ्य परीक्षण गर्दै आएका थिए। दुई महिनाअघि मात्र गरिएको पछिल्लो पूर्ण परीक्षणमा कुनै समस्या नदेखिएको काफ्लेले बताए। “ज्वरो हो, सामान्य सिटामोल खाएपछि अस्पताल जानुपर्दैन, घरमै आराम गरे पुग्छ भन्ने चिकित्सकको सल्लाहपछि सचिवालयका कर्मचारी र हामी पनि घर–घर गयौँ,” उनी भन्छन्, “दिउँसो पनि ठीकै हुनुहुन्थ्यो। त्यस्तो कुनै समस्या थिएन।”
सोमबार बिहान र साँझ संसद् सचिवालयका स्वास्थ्य प्राविधिक प्रदीप घिमिरेले नेम्वाङको घरमै पुगेर स्वास्थ्य जाँच गरेका थिए। शुरूमा ग्लुकोजको मात्रा कमी देखिएको थियो। नेम्वाङ संविधानसभा अध्यक्ष भएदेखि नै घिमिरेले उनको स्वास्थ्य अवस्थाको हेरचाह गर्दै आएका थिए।
“मैले हेर्न थालेको पाँच वर्ष भयो। प्रदीप दाइले उहाँ संविधानसभा अध्यक्ष भएदेखि नै हेरिरहनुभएको थियो,” नेम्वाङलाई नियमित चिकित्सा सेवा दिँदै आएका संसद् सचिवालयका चिकित्सक डा. पुष्पराज रिजालले भने, “केही समस्या देखिए उहाँले मलाई रिपोर्ट गर्नुहुन्थ्यो।”
डा. रिजालले साँझ ६ बजे नेम्वाङलाई फोन गरेका थिए। त्यसबेला नेम्वाङले नै उनलाई आउनुपर्दैन भनेर आश्वस्त पारेका थिए। “म ठीक छु। खाना खाएँ। तपाईं आउनु पर्दैन, तनाव नलिनुस् भन्नुभयो,” डा. रिजाल भन्छन्, “उहाँको स्वास्थ्य अवस्थाका सबै रिपोर्ट सामान्य थिए।”
डा. रिजालका अनुसार बिहान कम देखिएको सुगरको मात्र पछि ठीक भइसकेको थियो। नेम्वाङको रक्तचाप सोमबार साँझ १४०/८०, अक्सिजन ९५ र सुगरको मात्रा १३८ रहेको उनले बताए।
सबै अवस्था सामान्य हुँदाहुँदै नेम्वाङको मृत्यु के कारणले भयो त? डा. रिजाल भन्छन्, “उहाँले धेरै पहिलादेखि नै उच्च रक्तचापको औषधि खाइरहनुभएको थियो। त्यसमाथि सुगरको बिरामी हुनुहुन्थ्यो। उच्च रक्तचापको औषधि खाने र सुगरको रोग भएकाहरूमा हृदयघात हुने सम्भावना हुन्छ। एकैछिनअघि स्वस्थ्य देखिए पनि अचानक हृदयघात हुनसक्छ।”
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका अनुसार नेम्वाङलाई राति १ः५० मा अस्पताल पुर्याइएको थियो। आउनासाथ जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अस्पतालले मंगलबार विज्ञप्तिमार्फत् जानकारी दिएको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले निकालेको विज्ञप्तिमा अस्पताल पुर्याइएपछि जाँच गर्दा आँखाको नानी फुलिसकेको अवस्था रहेको उल्लेख छ।
“चिकित्सकद्वारा ३५ मिनेटसम्म सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन अर्थात् कृत्रिम श्वासप्रश्वास वा छातीको संकुचन विधिबाट बन्द भएको मुटुलाई पुनः चालमा ल्याउने प्रक्रिया) गर्दा पनि जीवनसम्बन्धी कुनै संकेतहरू नदेखिएकाले ३ः०० बजे मृत घोषणा गरेको जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
