इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग नेपालकाे दौत्य सम्बन्ध स्थापना भएको थियो।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरूप प्रदान गरेको छ। 

इजरायली राजदूत हनन गोदेरले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा बीपीको सो भाषण उपहारस्वरूप हस्तान्तरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग नेपालकाे दौत्य सम्बन्ध स्थापना भएको थियो। सन् १९४८ मा राज्यका रूपमा स्थापित इजरायलसँग सिंगो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा बीपी कोइरालाले स्वतन्त्र राष्ट्र स्वीकार गरेका थिए। 

सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को अगस्ट १५ मा 'इन्टरनेसनल कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्स'को प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बीपी कोइरालाले गरेको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहारस्वरूप हस्तान्तरण गरेका हुन्। 

राजदूत गोदेरले सो भाषण धेरै मेहनतका साथ खोजी गरेर आफूले फेला पारेको र बीपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएकाबेला हस्तान्तरण गर्न पाउँंदा खुसी लागेको बताएको पनि सल्लाहकार पोखरेलले जनाएका छन्। 

पोखरेलका अनुसार राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्ताबेज उपहार उपलब्ध गराएकोमा हर्षित हुँदै धन्यवाद दिएका थिए।