लिबिया बाढीमा मृत्यु हुनेको संख्या ५ हजार ३०० नाघ्यो

करिब एक लाख मानिसको बसोबास रहेको भूमध्यसागरीय तटीय शहर डेर्नामा सबैभन्दा ठूलो विनाश भएको छ। त्यहाँ मात्रै दुई हजार ५०० मानिसले ज्यान गुमाएका छन्। 

तस्वीरहरू: एपी

उत्तरपूर्वी लिबियामा आएको विनाशकारी बाढीले नदीका बाँधहरू भत्काउदा कम्तीमा पाँच हजार ३०० नागरिकको मृत्यु भएको छ। अरू १० हजारभन्दा बढी बेपत्ता भएको सीएनएनले लेखेको छ।

रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघका प्रमुख तामेर रमदानले मंगलबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा लिबियाको अवस्था भयावह रहेको बताए। “मृत्युको संख्या ठूलो छ,” उनले भने, “मृत्यु वा बेपत्ताहरूको संख्या स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिएको छैन।”

संयुक्त राष्ट्र संघले विनाशकारी बाढीले गरेको विनासबारे विश्वव्यापी चिन्ता फैलिँदै गएको बताएको छ। राष्ट्र संघका एक अधिकारीले यसलाई ‘ठूलो अनुपातको विपत्ति’ भनेका छन्। 

करिब एक लाख मानिसको बसोबास रहेको भूमध्यसागरीय तटीय शहर डेर्नामा सबैभन्दा ठूलो विनाश भएको बताइएको छ। 

“नदी किनारमा रहेका बहुतले भवन ढलेका छन्। ती घर र कारहरू पानीको उग्र बहावसँगै विलीन भएका थिए,” त्रिपोलीस्थित रेस्क्यु एण्ड इमर्जेन्सी सर्भिसलाई उद्‌धृत् गर्दै सीएनएनले भनेको छ, “ डेर्नाको अवस्था अकल्पनीय र डरलाग्दो छ। हामीलाई जीवन बचाउन थप सहयोगको आवश्यकता पर्नेछ। त्यहाँ अझै पनि भग्नावशेषमुनि मानिसहरू छन् र प्रत्येक मिनेटको गणनासँगै उनीहरूको जीवित वा मृत सङ्ख्यामा गणना हुनेछ।”

ग्रीस, बुल्गेरिया र टर्कीमा आइतबार आएको आँधी ‘डेनियल’को मुसलधारे वर्षाका कारण बाढी आएको हो।