किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

विश्व स्वास्थ्य संगठनले पनि प्रमाणीकरण गरेको एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमणमा ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ।

काठमाडौँ– किशोरीहरूलाई बुधबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ दिइँदै छ।

सात प्रदेशका सातवटै अस्पतालबाट ‘डेमोस्ट्रेशन’का खोप दिन लागिएको हो। खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेभित्र जन्मेका किशोरीलाई दिइने परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए। 

पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप लागिएको उनले बताए। उनका अनुसार कोशी प्रदेशको कोशी अस्पतालमा भने उक्त खोप बिहीबार दिइने छ। 

बुधबार मधेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमतीको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकीको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल बाँके, कर्णालीको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिमशको डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाइने छ। खोप अभियान भदौ ३० सम्म सञ्चालन हुने छ।

खोपको दोस्रो मात्रा छ महिनापछि दिइने छ। पहिलो मात्रा जहाँ लगाएको हो त्यही नै दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ। शाखाका प्रमुख डा. गौतमले सबै खोप लगाउने अस्पतालमा पुर्‍याइसकेको बताए। सरकारले गत असारमा उक्त खोपको २० हजार मात्रा खोप चीनबाट ल्याएको थियो। 

महाशाखाका निर्देशक डा. विवेककुमार लालले विश्व स्वास्थ्य संगठनले पनि प्रमाणीकरण गरेको एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताए। यसअघि सरकारले सन् २०१६/०१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो। ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनांगको क्यान्सर तथा यौनांगमा हुने मुसाबाट खोपले बचाउँछ। नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्छ।

सरकारी तथ्यांकअनुसार दुई हजार २४४ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार ४९३ (६६.५ प्रतिशत)को मृत्यु भएको छ। पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ। महिलामा असुरक्षित यौन सम्पर्क, धुमपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्छ। 

एचपीभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिंगटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्छन्। एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन आग्रह गरिएको छ।