जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा सुवास नेम्वाङ

सुन्तलाबारीका ९२ वर्षीय रनबहादुर लिम्बूले नेम्वाङलाई सम्झिँदै भने, “धेरै नबोल्ने गम्भीर स्वभाव थियो। गाउँमा कसैले झगडा गर्‍यो भने ऊ रुन्थ्यो।” 

फिक्कल– इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मिएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मंगलबार इलामसहित देश नै शोकमग्न बन्यो। यो खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुगे। नेम्वाङको छिमेकी श्रेष्ठले भने, “हिजो दिनभर घरमै बसे। आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ। ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ। विगतका मीठा पल सम्झिएँ। विरक्त लाग्यो।” 

अब फेरि देशले अर्को सुवासचन्द्र पाउन मुस्किल हुने उनको भनाइ छ। “उहाँ हाम्रो देशको गहना हुनुहुन्थ्यो। इलामको मात्र होइन झापा, पाँचथर र ताप्लेजुङको विकासका लागि पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ,” श्रेष्ठले भने। इलामको गहनाका रूपमा सानिमा हाइड्रोबाट सोयाङ हुँदै इलाम जोड्ने बाटो बनाउन नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको उनको भनाइ छ। 

नेम्वाङकै पहलमा इलाममा कोल्डस्टोर, सिटीमार्ट, गौतमबुद्ध सभाहलजस्ता संरचना निर्माण भएको सुन्तलाबारीकी सुशीला नेम्वाङको भनाइ छ। नगरलाई विभिन्न गाउँसँग जोड्ने सडक निर्माणका लागि दातृ निकायसँग सम्पर्क गरेर नेम्वाङले योजना ल्याएको उनले सुनाए। टेलिफोन विस्तार, विद्युतीय विस्तारमा टेवा पुर्‍याउनुका साथै इलाम अस्पताललाई गुणस्तरीय अस्पताल बनाउन नेम्वाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सुशीलाले बताइन्। 

सुन्तलाबारी गाउँका ९२ वर्षीय रनबहादुर लिम्बूले विगत सम्झँदै भने, “उसको धेरै नबोल्ने गम्भीर स्वभाव थियो। गाउँमा कोहीले झगडा गर्‍यो भने ऊ रुन्थ्यो,” राईले भने, “झगडा मन नपराउने, धेरै नबोल्ने स्वभाव थियो।” गएको आम निर्वाचनमा भएको भेट नै नेम्वाङसँगको अन्तिम भेट रहेको उनले बताए। “आशीर्वाद चाहियोभन्दा मैले चिताएको पुगोस् भनेको थिएँ। म जीवितै छु ऊ बितेको खबर सुन्दा मेरो भक्कानो छुट्यो,” उनले भने।

सुन्तलाबारीमा बाबु रामबहादुर र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले आफ्नो बाल्यकाल त्यहीँ बिताएका थिए। बुवा अदालतको न्यायाधीश भएकाले नेम्वाङले आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए। 

इलाम–२ बाट पाँचौँपटक संसदीय निर्वाचनमा निर्वाचित प्रतिनधिसभा सदस्य नेम्वाङको निधनपछि इलाम स्तब्ध बनेको छ। यतिबेला यहाँका सबै राजनीतिक दलका नेता, कार्यकर्ताको एउटै बोली सुनिन्छ, “इलामको मियो ढल्यो।” २०७९ सालको निर्वाचनमा नेम्वाङ ३० वर्षदेखिको विरासत जोगाउँदै ११४ मतान्तरले विजयी भएका थिए। 

नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए। नेम्वाङले निर्वाचन जितेको क्षेत्रमा इलाम र देउमाई नगरपालिका, माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका, माई नगरकापालिकाका वडा नम्बर ६, ७ र ८ पर्छन्।