६० किलो सुन प्रकरणमा ५० प्रतिवादी, ३ अर्ब ५० करोड बिगो

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ब्रेक शुलगायत माध्यमबाट पछिल्लो समय तीन क्विन्टल बढी सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लागेको जनाएको छ।

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ। प्रतिवादी बनाइएकामध्ये हालसम्म ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन्। 

सीआईबीले सुन प्रकरणका मुख्य योजनाकार दावा छरिङकी श्रीमती अमला रोकालाई पनि प्रतिवादी बताएको छ। पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ जना विदेशी रहेको सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन्। यस्तै, फरारमध्ये १४ जना विदेशी र चार जना नेपाली छन्।

साउन २ मा बरामद भएको ब्रेक शुमा ६० किलो बढी सुन बरामद भएको थियो। विभिन्न गोदामहरूमा छापा मार्दा अरू पनि यसरी समान ल्याएको खुलेको थियो। त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको पाइएको बज्राचार्यले बताइन्। ‘ब्रेक प्याडहरूलाई यकिन गर्दा ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ,” उनले भनिन्।

त्यसअनुसार सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरेको छ। सीआईबीले बुधबार सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ। 

त्यसअघि सीआईबीले पत्रकार सम्मेलन गरेर यसबारे जनालाई प्रतिवादी बनाइएको जानकारी दिएको हो।

माओवादी उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोका फरार छिन्। अमलाका श्रीमान् चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ यसअघि नै पक्राउ परिसकेका छन्। यो प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनको मुख्य भूमिका रहेको देखिएको प्रहरीले जनाएको छ। 

एआईजी बज्राचार्यका अनुसार यो सुन तस्करीमा अन्तरदेशीय संगठित अपराध देखिएको छ। यसमा नेपाली, भारतीय र चिनियाँ नागरिक संलग्न छन्।