उत्तर कोरियाली नेता किम र पुटिनबीच भेटवार्ता, हतियारसम्बन्धी सम्झौता हुने

साइबेरियाको अमुर क्षेत्रस्थित रुसी अन्तरिक्ष केन्द्रमा दुई नेताबीच भेटवार्ता भएको हो। वार्ताका क्रममा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ।

उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ। 

साइबेरियाको अमुर क्षेत्रस्थित रुसी अन्तरिक्ष केन्द्रमा दुई नेताबीच भेटवार्ता भएको हो। रकेट प्रक्षेपण गर्ने भवनमा नेता किमलाई राष्ट्रपति पुटिनले स्वागत बुधबार स्वागत गरेका हुन्। सो क्रममा दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्द आदानप्रदान गरेका थिए। क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ। 

भ्रमणका निम्ति निमन्त्रणा गरेकोमा नेता किमले राष्ट्रपति पुटिनलाई धन्यवाद व्यक्त गरे। यसबाट उत्तर कोरिया र रुसबीचको रणनीतिक सम्बन्ध र दुवै देशका समान प्राथमिकता प्रतिबिम्बित भएका उनको भनाइ छ। 

यसअघि रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सन् २०१९ मा भेटवार्ता भएको थियो। बुधबारको द्विपक्षीय वार्तामा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय जगत्‌ले एक्ल्याएका नेता द्वयले हतियार सम्झौता गर्न सक्ने प्रबल सम्भावना रहेको सुरक्षा विश्लेषकले बताएका छन्। आफ्नो अभेद्य रेल चढेर रुस भ्रमणमा पुगेका नेता किमले उत्तर कोरियाका वरिष्ठ सैनिक अधिकारीलाई साथमा ल्याउनुको अर्थ हतियार वार्ता हो भन्ने स्पष्ट हुने एएफपीले जनाएको छ। 

राष्ट्रपति पुटिनले पनि हतियारलगायत सबै विषयमा छलफल हुने पत्रकारलाई बताएका छन्। नेता किमले उत्तर कोरियाको अन्तरिक्ष कार्यक्रम विकास गर्न चाहेको बताउँदै त्यसनिम्ति भूउपग्रह सहयोग गर्ने उल्लेख गरे

रुसी रक्षामन्त्री सर्गेई शोइगु गत जुलाईमा प्योङयाङको भ्रमणमा भएका थिए। त्यसबेला र हालै द्विपक्षीय संयुक्त नौसैनिक अभ्यासको प्रस्ताव गरिएको छ। दुई नेताबीचको वार्तामा भाग यी विषयका साथै खाद्यान्न सहायतालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।